जेष्ठ १६, २०८२ बिहीबार

टेलिकमले भोलिदेखि निःशुल्क इ–सिम वितरण गर्ने

बिर्तामोड । नेपाल टेलिकमले भोलिदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ । इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक इ–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]