जेष्ठ १६, २०८२ बिहीबार

कनकाई उर्जामा स्थानीय तहको ६० प्रतिशत शेयर

बिर्तामोड । कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडले आगामी पुस पहिलो हप्तासम्मा फोहोरबाट बायो ग्यास र मल उत्पादन गर्ने गरी परियोजना निर्माणलाई तीब्रता दिएको छ ।

पब्लिक लिमिटेड कम्पनीले पालिकाहरुको फोहोरमैला व्यवस्थापनमा चाँडोभन्दा चाँडो समस्या समाधानका लागि सञ्चालनको मितिलाई अगाडि सारिरहेको छ । ७ सय ५० सर्वसाधारण नागरिकले समेत लगानी गरेको सो कम्पनी छिट्टै सञ्चालनमा ल्याउने गरी युद्धस्तरमा काम गरिरहेको कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिए । उनले बाहिरी अफवाहले कुनै पनि प्रभाव नपार्ने बताउँदै निर्माणलाई तीब्रता दिएको बताएका छन् ।

बिहीवार पत्रकारहरुसँग कुरा गर्दै तिम्सिनाले भने, स्थानीय तहहरुकै आँटबलले निर्माण थालेका हौं । हामीले कनकाईको फोहोर मात्रै व्यवस्थापन गर्ने सोचका साथ निर्माण थालेका थियौं । अन्य पालिकामा पनि फोहोर व्यवस्थापन चुनौति बन्दै गएपछि पालिकाकै आग्रहमा परियोजनालाई ठुलो बनाइएको थियो । उनका अनुसार अन्य पालिकाले समेत परियोजनामा सहभागी हुने बताएपछि सोही अनुसार कामलाई अघि बढाइएको थियो । अहिले पालिकाहरुकै लगानी ठुलो हुने भएको छ ।

अनुदान कि शेयर भन्ने छलफलमा पालिकाहरुले ६० प्रतिशत शेयर खरिद गरेर अघि बढ्ने सहमति भएको थियो । सो कम्पनीबाट गरिएको आम्दानीले वातावरणमै खर्च गर्ने पालिकाहरुले सोच बनाएका छन् । निर्माणको शुरुआतमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कनकाई, बिर्तामोड, अर्जुनधारा र कम्पनीबिच सम्झौता नै गराएको थियो । कोभिडका कारण मेसिन आउन ढिलाई भएपछि सञ्चालनमा पनि ढिलाइ भएको अध्यक्ष तिम्सिना बताउँछन् ।

अब पालिकाहरु तत्कालै लगानी गरेर फोहोरमैलालाई छिटोभन्दा छिटो व्यवस्थापन गर्न जुट्नु भएको छ, तिम्सिनाले भने– राज्यको तर्फबाट ठुलो लगानी भइसकेको छ । अझै लगानी जारी छ । यसको सञ्चालनको विकल्प छैन ।

कम्पनीका प्रवन्ध सञ्चालक दिपक चापागाईले पब्लिक लिमिटेडमा पालिकाको ६० प्रतिशत शेयर लगानी निश्चित भइसकेको जानकारी दिए । सरकारका विभिन्न तहमा परामर्श र स्वीकृतिबाटै पालिकाहरु लगानीका लागि तयारी भएको बताए । पब्लिक कम्पनीमा स्थानीय तहले न्यूनतम ५१ प्रतिशत शेयर खरिद गर्नैपर्ने हुन्छ । ५१ प्रतिशत खरिद गरेपछि परियोजना पालिकाको मातहतमा हुनेछ । चापागाई भन्छन्, कम्पनीको सबै लेखापरीक्षण नै पालिकाले गर्नेछ ।

उर्जा प्लान्टबाट दैनिक १० टन मल उत्पादन हुनेछ भने १ हजार परिवारलाई पुग्ने ग्यास उत्पादन हुनेछ । ४० टन क्षमताको डाइजेस्टर मेसिन परियोजनामा तयारी भइसकेको छ । जैविक र अजैविक दुवै फोहोरमैला व्यवस्थापन गरेर ग्यास र मल उत्पादन गरिने उनको भनाई छ । उक्त डाइजेस्टरमा जिल्लाभरको एक दिनको फोहोर हाल्दा पनि भरिदैन, उनले थपे – देशभित्र र बाहिरको अध्ययनपछि परियोजना सञ्चालन गरिएको हो । सो परियोजनामा सर्वसाधारण नागरिकले १० हजारदेखि १ करोडसम्म लगानी गरेका छन् । हालसम्म १३ करोड लगानी भइसकेको परियोजनामा २२ करोड बढि लागत अनुमान गरिएको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  १ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]