जेष्ठ १७, २०८२ शुक्रबार

ओलीको अवलोकन लगत्तै पाथीभरा इन्जिनियरिङ कलेजलाई सम्बन्धन प्राप्त

बिर्तामोड । झापाको बिर्तामोडमा १२ वर्षअघि स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले पूर्वाञ्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त गरेको छ । सम्बन्धन पाएसँगै दशैंतिहारको बिचबाट भर्ना खुला गर्ने कलेज प्रशासनले जनाएको छ ।

आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको सो कलेजले १२ वर्षको अन्तरालमा ठुलो क्षति व्यहोर्नु परेको छ । कलेजका सञ्चालक युवराज प्रसाईले करोडौं लगानी गरेर बसेको वर्षौपछि सम्बन्धन पाएको र अब चाँडैं पठनपाठन शुरु गर्ने बताए ।

उनले १२ वर्षमा कलेजभित्रका धेरै सामग्रीमा समेत क्षति भएको बताए । समयमा सम्बन्धन नपाउँदा ल्यावका सामग्री विग्रिए, ३५÷४० लाखको सामान नै हरायो, प्रसाईले भने – ढिलोछिटो सम्बन्धन पाइन्छ भन्ने आशाले नै बसेका थियौं । सम्बन्धन प्राप्त भयो । सबै सहयोगीप्रति आभार प्रकट गछौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली भदौंमा झापा आएका बेला कलेजको स्थलगत अवलोकनमा पुगेका थिए । एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले कलेजले अवलोकनका लागि अध्यक्ष ओलीलाई त्यहाँ पुर्याएका थिए । अवलोकनमा पुगेका ओलीले कलेजस्थलबाटै सम्बन्धित निकायमा सम्पर्क गरेर सम्बन्धनका लागि आवश्यक प्रक्रिया तत्काल पुरा गरी सम्बन्धन दिन निर्देशन दिएका थिए ।

ओली नेतृत्वको तत्कालिन सरकारले मन्त्रीपरिषद्बाट सम्बन्धन दिनलाई निर्णय गरेको थियो । त्यसपछिको सरकारले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन नगरेपछि सम्बन्धन पाउन ढिलाई भइरहेको थियो । कलेजका सञ्चालक प्रसाईले एमाले अध्यक्ष ओलीले शुरुदेखि कलेज सञ्चालनका लागि योगदान गरेको बताए । उनले भने, एमाले नेता अग्नी खरेलले पछिल्लो समय सम्बन्धन ल्याउन धेरै प्रयत्न गर्नुभयो । उहाँहरुको योगदानबाटै कलेजले सम्बन्धन पाएको छ ।

एमाले झापाका इञ्चार्ज खरेलले नागरिकको लगानीलाई बेहाल बनाउन नहुने बताए । आफु कलेजका बारेमा जानकार रहेको उनको भनाई छ । जिल्लामा इन्जिनियरिङ कलेज स्थापना गर्नैपर्ने भएकाले सम्बन्धन ल्याउन धेरै जोडबल गरेको खरेलले बताए । उनले भने, १२ वर्षदेखिको प्रयासलाई सफल बनाएका छौं । प्रसाईजीले कुशल ढंगबाट कलेज सञ्चालन गर्ने विश्वास गरेको छु ।

अर्जुनधारा ११ मा निर्माण गरिएको पाथीभरा कलेजले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्नेछ । कलेजले सबै विषयमा ४८÷४८ जना विधार्थी पढाउन पाउनेछ । २७ कठ्ठा जमिनमा निर्माण भएको कलेजमा धेरै संरचनाहरु विग्रिएका छन् । प्रसाईले भने, १२ वर्षअघि बनाएका फर्निचरदेखि अन्य सामग्रीको हालत के भयो होला । यहाँ क्षति सुनाएर कसले व्यहोर्छ ? कलेजले सम्बन्धन पाउनु नै ठुलो कुरा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]