जेष्ठ ३, २०८२ शुक्रबार

असोज ९ गतेदेखि अर्जुनधारामा गोल्डकप

इन्द्रकुमार राई
शनिश्चरे । नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर अर्जुनधारा खेल मैदानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट फुटबल क्लब बीच दोस्रो नव युवा गोल्डकप प्रतियोगिता हुने भएको छ । गोल्डकप आगामी असोज ९ गतेदेखि १६ गतेसम्म संचालन हुनेछ ।

स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नाराका साथ अर्जुनधारा नगरपालिका ४ र ७ स्थित नव युवा क्लब र अर्जुनधारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा फुलपातिका दिन समापन हुने गरि दोस्रो नव युवा गोल्डकप प्रतियोगिता संचालन हुन लागेको हो । क्लबद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका संयोजक सुरेश अधिकारीले दोस्रो नव युवा गोल्डकप बारे जानकारी गराएका हुन् ।

क्लबले खेल संचालन गरि यस क्षेत्रबाट राष्ट्रका लागि योग्य खेलाडीहरु उत्पादन गर्ने उदेश्य रहेको छ । अधिकारीका अनुसार गत बर्ष भन्दा यसपाली संचालित हुने गोल्डकप प्रतियोगिता कडा प्रतिस्पर्धा हुने भएकोले खेल व्यवस्थापन गर्न ८ लाख ६२ हजार ५ सय २ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १ रुपैयाँसहित सिल्ड, ट्रफी र दोस्रो हुने टिमलाई ५१ हजार १ रुपैयाँ र नगद र ट्रफी प्रदान गरिनेछ ।

खेलमा उत्कृष्ट हुने गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिलडर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ३÷३ हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगितामा नव युवा क्लब तथा अर्जुनधारा स्पोर्टिङ क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, बिर्तामोड युनाइटेड , ब्रोर्दश युनाइटेड ,सैनिक फुटबल क्लब ,दमक फुटबल एकाडेमी ,जलथल फुटबल क्लब र रत खोला फुटबल एकाडेमी दार्जिलिङ गरि जम्मा ८ वटा टिम सहभागी हुने बताइएको छ ।

नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको सभापतित्व र सचिव दिनेश भुजेलको संचालन गरेको पत्रकार सम्मेलनमा नेपाल रेफ्री संघका केन्द्रीय सदस्य प्रदिपकुमार बस्नेत, क्लबका सल्लाहकारद्वय केदार पराजुली, तुलसी श्रेष्ठ, सहायक रेफ्री टीका पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]