बिर्तामोडको फोहोर व्यवस्थापनमा कुनै कसर बाँकी राख्दिन : मेयर प्रसाई
बिर्तामोड । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले फोहोर व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको बताएकी छन् । उनले बिर्तामोडको फोहोर व्यवस्थापनमा नगरपालिका सधैं सचेत र सजग रहेको बताइन् ।
बिर्तामोड नगरपालिका र बिर्तामोड उधोग वाणिज्य संघले आज विहान विभिन्न संघ संस्थाको साझेदारीमा आयोजना गरेको सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रसाईले फोहोरका नाममा विभिन्न अफवाह फैलाएकोमा चिन्ता व्यक्त गरिन् । उनले सरसफाईका लागि नगरपालिकाले सक्दो काम गरिहेको भन्दै उक्त अभियानमा सबैलाई साथ दिन आग्रह गरिन् ।

बिर्तामोडको फोहोर व्यवस्थापनमा विभिन्न समूहले बाटोबाटोमा फोहोरका गाडि रोकेर दुःख दिने गरेको उनको भनाई छ । अहिले निरन्तर बिर्तामोडको फोहोर उठाउने काम चलिरहेको भन्दै दीर्घकालिन व्यवस्थापनका लागि कनकाई बिर्ता अर्जुन पब्लिक कम्पनीसँग साझेदारी गरिएको जानकारी दिएकी छन् । प्रसाईले भनिन्, फोहोरका नाममा अफवाह फैलाएर व्यक्तिगत रुपमा मलाई केहि हुन्न, यसले नगरको फोहोर व्यवस्थापनमा कठिनाई मात्र हुने हो । त्यसैले फोहोर व्यवस्थापन सबै जिम्मेवारी सम्झेर सहयोग गर्न उनको आग्रह छ ।
नगरपालिका, वाणिज्य संघ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय संघ संस्थाको संयुक्त आयोजनामा बिर्तामोड सरसफाई गरिएको हो । बजार क्षेत्रमा सहभागीहरुले सरसफाई गरेका छन् । ठुलो संख्यामा सरसफाई गर्न विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुँदा समेत व्यापारीहरु पसलमा बसेर हेरिरहेका थिए ।
