जेष्ठ १८, २०८२ शनिबार

सरकारले चुनावमा धाँधलीको तयारी गर्यो : ओली

धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ । यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी भ्रष्टाचारी सरकार ।’

सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए । अध्यक्ष ओली लोसपाका नेता उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउन धनुषा पुगेका थिए ।

अरगरियासहित अन्यलाई पार्टीमा प्रवेश गराएपछि उनले एमालेमा आउनेहरूलाई उचित अवसर दिइने प्रतिवद्धता समेत जनाए । ‘तपाईहरूलाई अवसर दिएर नै अगाडि बढाउनेछौं । तपाईहरूलाई कुनै पछुतो हुने छैन’, उनले थपे ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]