जेष्ठ २, २०८२ बिहीबार

चाडवाड लक्षित सवारी व्यवस्थापन मिलाऔं

सम्पादकीय
चाडवाड लागेपछि सबैजसो सडक क्षेत्रमा चाप बढ्ने गर्छ । अहिले काठमाडौंसहित देशभरबाट घर फर्किने क्रम शुरु भएको छ । झापामा घर भएकाहरु पनि फर्कन थालेका छन् । झापा हुँदै आफ्नो जिल्ला फर्किनेहरुको भीड उत्तिकै बढिरहेको छ । चाडवाडमा त्यसै पनि सवारीको आवगमन बढिरहेको हुन्छ । यो बेला सवारी दुर्घटनाको जोखिम उत्तिकै बढी हुन्छ । यसैले सवारी दुर्घटना हुन नदिन सर्वप्रथम होसियारी पूर्वक सवारी चलाउन आवश्यक छ । होसियारी अपनाउन सकिएन भने दुर्घटनामा पर्ने जोखिम हुनेछ ।

बिर्तामोडमा सवारीको अस्तव्यस्तता डरलाग्दो छ । यहाँको सवारी व्यवस्थापन कमजोर छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि बिर्तामोड मै छ । त्यै पनि यहाँ सवारी व्यवस्थापन राम्रो हुन सकेको छैन । व्यवसायिक बजार भएको हुँदा माल सामान बोकेर आउने सवारीको चाप उस्तै छ । साना सडकमा ठुलाठुला सवारी प्रवेश गराइन्छ । जसले गर्दा दोहोर आवगमन मै ठुलो प्रभाव पर्छ । त्यो पनि दुर्घटना जोखिमको अर्को कारण हो । यस तर्फ व्यवसायी पनि सचेत हुन आवश्यक छ ।

बिर्तामोडको कृषिथोक र बोलबम मण्डीलाईनमा सधैं जाम हुन्छ । त्यसको प्रभावले पूर्व–पश्चिम लोकमार्गमा समेत असर गर्ने गरेको छ । त्यहाँ एकोहोरो सवारी सञ्चालन गर्ने हो भने भीडभाड कम हुन्छ । त्यसका लागि ट्राफिक प्रहरीले व्यवस्थानको योजना बनाउनुपर्छ । होइन भने सधैंको अस्तव्यस्त बजार चाडवाडमा पनि उस्तै हुन्छ । विशेष गरी बिर्तामोडमा पार्किङको समस्या ठुलो छ । यसको व्यवस्थापन नहुँदा पनि सडक क्षेत्रमा जोखिम छ । यसैले चाडवाडलाई लक्षित गरेर पनि ट्राफिक व्यवस्थापन मिलाई दुर्घटनाको जोखिम कम गर्नुपर्छ ।

प्रकाशित मिति : आश्विन ११, २०७९ मंगलबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]