मानसिक चिन्ता बारे सचेत रहौं
सम्पादकीय
कोरोना महामारी पछि सबै क्षेत्रमा आर्थिक समस्या देखा परेको छ । कारोवारमा कमि आएपछि बढ्दै गएको आर्थिक संकट अहिलेसम्म समाधान हुन सकेको छैन । जसका कारण व्यवसायिक र पारिवारिक सम्बन्धमा समेत वादविवाद, मनमुटाव बढिरहेको पाइन्छ । महामारीपछि सबै परिवारमा आर्थिक समस्याको प्रभाव छ । त्यसपछि सरकार परिवर्तनसँगै देखिएको तरलता अर्को ठुलो समस्या बन्दै गइरहेको छ । जसका कारण समस्या समाधानबाट भाग्नलाई कतिपयले देहत्याग गर्ने गरेका छन् । देहत्याग सबैभन्दा ठुलो त्रुटि हो । यो निर्णय कसैले गर्न हुदैन ।
देहत्यागका कयौं घटना छन् । कतिपय घटना सामान्य र कतिपय रहस्यमय पनि हुन्छन् । पछिल्लो समयको देहत्यागका घटना आर्थिक कारोवारसँग जोडिएको देखिन्छ । आर्थिक कारोवार विग्रिएपछि गलत निर्णय लिदा परिवारमा थप समस्या बढ्ने निश्चित हुन्छ । यसैले कसैले पनि परिवारभित्र यस प्रकारका समस्या देखिए समाधानका लागि सहकार्य गर्नुपर्छ । विभिन्न वित्तीय संघ संस्थाको कर्जाको किस्ता बुझाउन नसक्दा पनि कतिपयले आफुलाई बलियो ढंगबाट उभ्याउन सकेका हुदैनन् । यो बेला आफ्नो समस्या परिवार र आफन्तमा पनि सुनाउनुपर्छ ।
कोरोना महामारीपछि मानसिक समस्या पनि बढेको चिकित्सकहरुको अध्ययन छ । चिकित्सकहरुले मानसिक समस्याका कारण पनि गलत निर्णय रोज्ने गरेको बताइरहेका छन् । यसैले मानसिक रुपमा समस्यामा परेका परिवारका जो कोहि सदस्यको दैनिकी, जीवनशैलीबारे जानकार हुन आवश्यक छ । डिपे्रशनका कारण आफ्नो परिवारको सदस्यले जस्तोसुकै निर्णय लिन सक्नेछन् भन्ने बुझाईबाट उनीहरुको परामर्शका लागि सहयोग गर्नुपर्छ । ऋणधन जेजे भएपनि आफ्नो परिवारमा खुलस्त राख्नुपर्छ । गलत निर्णयले परिवारहरुमा थप समस्या आउन सक्ने बुझेर व्यवहार गरौं, दुर्घटनाबाट बचौंं र बचाऔं ।