चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु भएको छ । यो सम्मेलनले सीबाहेक शीर्ष नेतृत्वमा व्यापक परिवर्तन गर्नेछ । त्यसैले यसलाई विश्वभर चासोका साथ हेरिँदैछ ।
६९ वर्षीय सी भने तेस्रो कार्यकालका लागि पुनः चयन हुने निश्चितप्राय मानिएको छ । सम्मेलनको सुरुवात गर्दै सीले आफ्नो प्रतिवेदन पेस गरिरहेका छन् । जसमा उनले गएका पाँच वर्षका प्रमुख उपलब्धि प्रस्तुत गर्नुका साथै आगामी पाँच वर्षको कार्यदिशा अघि सारेका छन् । यो सम्मेलनमा २ हजार २९६ प्रतिनिधि सहभागी छन् । जसले तीन सयभन्दा धेरै नयाँ केन्द्रीय सदस्य चुन्नेछन् ।

सम्मेलनमा पूर्वनेताहरु चियाङ चेमिन र चु रोङ्ची उपस्थित भएका छैनन् । ९६ वर्षीय चियाङ पूर्वराष्ट्रपति हुन् भने ९३ वर्षीय चु पूर्वप्रधानमन्त्री । तर, १०५ वर्षीय सोङ पिङ उपस्थित छन् । उनी जीवितमध्ये सबैभन्दा वरिष्ठ स्थायी समिति सदस्य हुन् ।
पूर्वराष्ट्रपति हु चिन्ताओ पनि सीसँगै ग्रेट हल अफ द पिपुलमा देखिएका छन् ।