बैशाख २७, २०८२ शनिबार

महिला फुटबलमा एपीएफ र प्रदेश नं १ विजयी

पोखरा । वालिङमा गत बिहीबारदेखि सुरु भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । आज भएका खेलमा एपीएफ र प्रदेश नं १ विजयी भएका छन् । वालिङ खेलमैदानमा भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमै एपीएफले पेनाल्टीमार्फत अग्रता लिएको हो । एपीएफका तर्फबाट रञ्जना दर्जीले गोल गर्दै टिमको अपराजित यात्रालाई अगाडि बढाएकी हुन् । छैटौँ मिनेटमा अनिता केसीले दोस्रो गोल गरिन् भने सरु लिम्बुले ३७औँ मिनेटमा तेस्रो गोल गर्दै अग्रता बढाएकी हुन् ।

मध्यान्तर अघि ३–० को नतिजा निकालेको एपीएफले मध्यान्तरपछि थप दुई गोल गरेको हो । मन्ध्यान्तरपछिको ८३औँ मिनेटमा पुनः रञ्जनाले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गरिन् । ८८औँ मिनेटमा अनिता बस्नेतले पाँचौँ गोल गरेकी थिइन् । प्रतियोगिता अवधिभर एपीएफ तीन खेलमा अपराजित हुँदै अगाडि बढेको छ भने गण्डकी प्रदेश एक खेलमा विजयी र दुई खेलमा पराजित भएको छ ।

आजको दोस्रो खेलमा प्रदेश नं १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

खेल सुरु भएको पाँचौँ मिनेटमा प्रदेश नं १ की अनिता गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । २२औँ मिनेटमा प्रतिक्षा राईले दोस्रो गोल गरिन् । मध्यान्तरसम्म २–० गोल अन्तर रह्यो । मध्यान्तरपछि ८४औँ मिनेटमा तीर्थाकुमारी लिम्बुले प्रदेश नं १ का लागि तेस्रो गोल गरिन् भने ८५औँ मिनेटमा अञ्जना थुलुङ राईले चौथो गोल गर्न पुगिन् । ८७औँ मिनेटमा ममता राउतले पाँचौँ गोल गरिन् भने अतिरिक्त समयको ९३औँ मिनेटमा पुनः अञ्जना थुलुङ राईले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाइन् । प्रतियोगिताबाट मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश बाहिरिएका छन् । भोलि मङ्गलबारको पहिलो खेल नेपाल पुलिस क्लब र प्रदेश नं १ तथा दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपीएफबीच हुनेछ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]