जेष्ठ २, २०८२ बिहीबार

उम्मेदवारको जीवनशैली हेरौं

सम्पादकीय
मंसिर ४ को निर्वाचनमा मत माग्दै घरघर आउने बेला हुन लाग्यो । कात्तिक १८ पछि उम्मेदवारहरु मतदाताको घरघर आउनेछन् । अहिले घरगाउँमा आफ्ना कार्यकर्तासँगको छलफलमा व्यस्त दलहरु चुनावी प्रचारमा निस्किएका छैनन् । चुनावी प्रचारमा मतदातासम्म आउने उम्मेदवारको ख्याल गर्नैपर्छ भनेको उनीहरुको जीवनशैली हो । उम्मेदवारको जीवनशैलीलाई विशेष ख्याल गरौं । केहि वर्षअघिको निजको जीवनशैली र अहिलेको जीवनशैलीलाई तुलना गरौं । प्रश्न गरौं, यो कहाँबाट कसरी संभव भयो ?

उम्मेदवारहरु सबै जनताको सेवा गरेर मात्र आएका छैनन् । उनीहरुको नैतिकता, जीवनशैली आर्थिक अपराध र सामाजिक जीवनको राम्रोसँग अध्ययन गरौं । कोहि कसैलाई हिंसामा पारेको व्यक्ति छ भने पनि मत नदिने भनौं । जब, जनताको काम गर्छु भन्ने उम्मेदवार नै असल छैन भने कुनै पनि काम पुरा हुने छैन । जतिसुकै मिठा कुरा गरे पनि उम्मेदवारको चरित्र ख्याल गर्नैपर्छ । मादक पदार्थ सेवन गरेर तमासा गरिरहेको व्यक्ति पनि उम्मेदवार हुन सक्छन् । सामाजिक रुपमा कसैलाई पाच्य नभएको व्यक्ति मत माग्दैछन् भने उनीसँग पर्याप्त छलफल पनि गरौं ।

केहि वर्षअघि अति सामान्य जीवन बिताएको व्यक्ति अहिले धनाढ्य जीवनशैली बनाएको छ भने त्यसको आम्दानीको स्रोत पनि खोजौं । राजनीतिक योगदान पार्टीको निम्ति हुन सक्छ । जनताको लागि गरेका काम पनि खोजौं । यसैले आम मतदाता विगतमा जस्तो मिठा कुरामा भन्दा योजनामा विश्वास गरौं । भविष्यमा जनताको सेवाभन्दा बाहिर नजाने व्यक्तिलाई मत दिऔं । र, अहिले राष्ट्रका लागि गरिएको तालमेल र स्वार्थका लागि गरिएको गठबन्धनबारे सजग रहौं । पाँच वर्षे कार्यकाल सफल बनाउनेभन्दा पनि असल उम्मेदवार, जिम्मेवार जनप्रतिनिधि अहिलेको आवश्यकता हो । त्यसैले एउटा महत्वपूर्ण पाटो, उम्मेवारको जीवनशैलीलाई ध्यान दिऔं ।

प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]