जेष्ठ २५, २०८२ शनिबार

सहकार्यबाटै बिर्तामोडको विकास गर्ने अठोट

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७९-०८० को नीति, बजेट तथा कार्यक्रमको नगर बिकास योजना पुस्तिका सार्वजनिक गरेको छ । एक कार्यक्रमका बिच नगरले सोमवार सो पुस्तिका सार्वजनिक गरेको हो ।
पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नगर बिकास योजना पुस्तिका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरुले सार्वजनिक गरेका हुन् ।

बिर्तामोड नगरले आगामी आर्थिक ०७९-०८० को लागि कुल आयव्ययको १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत) बजेट प्रस्ताव गरेको छ । उक्त बजेट मध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०, त्यसैगरि नगरको आन्तरिक आयबाट १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय ९० रुपैयाँ प्राप्त हुने आज सार्वजनिक भएको बिकास योजना पुस्तिकामा उल्लेख छ ।

त्यस्तै संघीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार, समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण प्रस्ताव पुस्तिकामा रहेका छ ।

चालु खर्चतर्फ प्रशासनिक खर्च, कृषि, पशु विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान, क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्गको लागि बिनियोजन गरिएको बजेट रहेको छ । पुँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा, कृषि, पशु विकास, तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन, मर्मत संभार कोष, विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत, फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरी प्रस्ताव गरिएको छ ।

नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संग्रौलाले स्वागत तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन नगरका योजना बिभाग अधिकृत जय तिम्सिनाले गरेका थिए ।

निर्वाचन आचारसंहिता लागु भएको हुनाले दलका नेताहरुको सहभागिता गराउन नसकेको बताइएको छ । नगर उपप्रमुख संग्रौलाले सबै दलहरुसँग सहकार्य गरेर नगर विकासलाई प्राथमिकता दिने बताएका छन् ।

प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]