देवकोटाको ११४ औं जन्मजयन्तीमा दुई स्रष्टालाई सम्मान
इन्द्रकुमार राई
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसरमा दुई जना स्रष्टालाई सम्मान गरेको छ ।
मिलन समाज तथा नव दुर्गा भवानी मन्दिर ( कात्यायनी शक्तिपीठ ) को संयुक्त आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा सोमबार स्थानीय ज्येष्ठ चौतारीमा आयोजित देवकोटा जयन्ती , स्रष्टा सम्मान तथा सामुहिक देउसी – भैलो एवं साँस्कृतिक कार्यक्रममा साहित्य र संगीत क्षेत्रमा योगदान पुर्याउने नगरका दुई जना स्रष्टालाई गरिएको हो ।

मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्व तथा गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याउने पुण्यप्रसाद बराल र संगीत क्षेत्रमा योगदान पुर्याउने सन्तोष आले मगरलाई सम्मान–पत्र सहित प्रतिव्यक्ति नगद ५ हजार रुपैयाँले पुरस्कृत गरिएको हो ।
कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले देउसी – भैलो शुभारम्भ गरेका थिए । सो अवसरमा श्रेष्ठले महाकवि देवकोटाको रचित कुन मन्दिरमा जान्छौं यात्री भन्ने गीत प्रस्तुत गरेका थिए भने समिर खरेलले ईश्वर तैंले रचेर फेरि भन्ने गीत प्रस्तुत गरे । कार्यक्रममा हरि काफ्ले , पोष्टराज कट्टेल , स्वेता चौधरी , सम्मानित आले मगर लगायतले गायन प्रस्तुत गरेका थिए । नृत्य तर्फ खुशी कट्टेल,निर्जला कटुवाल लगायतले नाच प्रस्तुत गरेका थिए ।

ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजका कोषाध्यक्ष कृष्ण पौडेलले संचालन गरेको कार्यक्रममा छन्द कवि मोहनप्रसाद घिमिरे , सम्मानित पुण्यप्रसाद बराल , चित्रकला पौड्याल लगायतले आआफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि थापा ,मिलन समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनाम , छत्रमणि ढकाल लगायत मन्तव्य राखेका थिए । मिलन समाजले बिगत केही बर्ष अघिदेखि देवकोटा जन्मजयन्ती मनाउँदै आएको समाजका सचिव शेखरनाथ अधिकारीले जानकारी दिए ।