झापामा २७१ मतदान केन्द्र अतिसंवेदनशील
बिर्तामोड । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाका २७१ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका मतदान केन्द्र २७१ केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । जिल्लाका १८१ मतदान केन्द्र संवेदनशील र ११४ मतदान केन्द्र कम संवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा ७६६ मतदान केन्द्रहरु छन् ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार दशैंअघिको अध्ययनका आधारमा केन्द्रहरुको सुरक्षा संवेदनशिलता वर्गिकरण गरिएको हो । अझै पनि कुनै घुसपैठ हुन सक्ने संभावना भए वा सुरक्षा चुनौतिलाई आधार बनाएर त्यसलाई तलमाथि गर्न सकिनेछ । संवेदनशिलताका आधारमा सुरक्षा परिचालन हुने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ । मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको हो । जिल्लाका १५ स्थानीय तहमा रहेको मतदानस्थलको अनुगमन गरिएको छ ।
मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ ।
पन्ध्र स्थानीय तह रहेको झापामा २८५ मतदानस्थल छन् । जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिएका छन् ।