सुकुम्वासी समस्या समाधानदेखि व्यावसायिक खेलाडी उत्पादन गर्ने एलपी साँवाको प्रतिबद्धता
बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नं ४ का उम्मेदवार एलपी साँवाको प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । २२ बुँदे प्रतिबद्धता पत्रमा सुकुम्वासी समस्या समाधानदेखि समृद्ध नेपाल,सुखी नेपालीको नारा साकार पार्नेसम्मका कार्यक्रम छन् । प्रदेशका उम्मेद्वार उम्मेदवारहरु राधाकृष्ण खनाल र भक्ति सिटौलासहितको संयुक्त प्रतिबद्धता पत्रमा नदी नियन्त्रण र तटबन्धनलाई पनि उच्च प्राथमिकतामा राखिएको छ ।

साँवाको टिमले सार्वजनिक गरेको प्रतिबद्धता अनुसार क्षेत्र नं. ४ लाई उज्यालो बनाउन सबैतिर विद्युतिकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी व्यावसायिक खेलाडी उत्पादन गर्ने,प्राकृतिक सम्पदाको संरक्षण गर्नेलगायतका कामहरू रहेका छन् । यस्तै वन तथा वातावरण संरक्षणमा पनि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
प्रतिबद्धता पत्रमा युवा स्वरोजगारका लागि आवश्यक वातावरण सृजना गर्ने,कच्ची सडकको स्तरोन्नति,गुणस्तरीय शिक्षा,ज्येष्ठ नागरिक,दलित,जनजाति,एकल महिला,लोपोन्मुख र सीमान्तकृत समुदायको संरक्षणका लागि कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।