गठबन्धनले विकासलाई प्राथमिकतामा राखेन : घिमिरे
बिर्तामोड । नेकपा एमालेको सरकारका पालामा सुरु भएका भौतिक पूर्वाधार निर्माणका कामहरुलाई अहिलेको गठबन्धन सरकारले प्राथमिकतामा नराखेको झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बताएका छन् ।
झापाको बुद्वशान्ति २ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले केपी ओलीले शिलान्यास गरेर बजेट छुट्याएका पुल र बाटाका कामहरुलाई मात्र निरन्तरता दिने हो भने पनि बिकास निर्माणले फड्को मार्ने बताए । केहि त्यस्ता योजनामा काम भए पति गति अत्यन्तै सुस्त रहेको भन्दै उनले काम नगर्ने ठेकेदार र कम्पनीलाई अहिलेको सरकारले कारवाही गर्नुको साटो उल्टै संरक्षण गरेको बताएका छन् ।

उनले अहिलेको प्रशासन कुशासनमा परिणत भएको समेत बताए । यस्तो अवस्थामा अबको निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बने यी अधुरा कामले निरन्तरता पाउने दावी गरे । उनले झापा २ बाट यही मंसिर ४ गतेको निर्वाचनमा आफुले जितेमा अर्जुनधारा र बुद्वशान्ति क्षेत्रको ठूलो समस्याको रुपमा रहेको बिन्दुली बाँधको दिगो समाधान गर्ने प्रतिवद्वता समेत जनाए ।
उनले यो सँगै बाटाघाटा निर्माण देखि लिएर शिक्षा, स्वास्थ्य लगायका क्षेत्रमा समेत उल्लेख्य काम गर्ने बताएका छन् । कार्यक्रममा नेकपा एमालेका तर्पmबाट झापा क्षेत्र नं. २ (२) का उम्मेदवार चिन्तन पाठकले बाटो निर्माण सँगै मठमन्दिरको स्तरोन्नती, सिंचाइको व्यस्थापन, कृषि क्षेत्रका समस्याको समाधान, बिद्युत बिस्तारका काम, शुद्व खानेपानीको व्यवस्थापन, बिद्यालय भवनको स्तरोन्नती, स्वास्थ्य क्षेत्रको बिकास, खेलकुद क्षेत्रको बिकास लगायत काम अबको प्राथमिकतामा रहने प्रतिवद्वता जनाए ।
कार्यक्रममा यस अघिको निर्वाचनबाट निर्वाचित प्रदेश सांसद बिर्ख प्रधानले आफ्नो र प्रतिनिधि सभा सांसद पबित्रा निरौला खरेलको पालामा पनि बुद्वशान्ति क्षेत्रमा धेरै राम्रा काम भएको दावी गरेका छन् । उनले अबको निर्वाचनमा पनि एमालेले नै जित्नुपर्ने बताउँदै बिकास निर्माणका कामो जिम्मा एमालेले मात्रै लिन सक्ने बताए । कार्यक्रममा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । झापामा एमाले र राप्रपाले चुनावी तालमेत गरेका छन् ।