खरेलले प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्लान कि शर्माले हारको हयाट्रिक ?
एलके शर्मा
झापा । ४ मंसिरका लागि घोषणा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा १ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व कानुनमन्त्री एवम् महान्यायधिवक्ता नेकपा एमाले झापाका इञ्चार्ज अग्निप्रसाद खरेल र सत्ता सत्तासाझेदार नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।

२०७० को दोस्रो संविधान सभा सदस्य र २०७४ को पहिलो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पराजित नेपाली काँग्रेसका महामन्त्री शर्मा र पहिलो पटक प्रतिनिधि सभाको सांसद बन्ने दाउमा रहनु भएका पूर्व कानुन मन्त्री र महान्यायधिवक्ता समेत रहेका खरेल बीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । खरेल र शर्मासहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ जना स्वतन्त्र हुन् । खरेल र शर्माबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारहरूले दिने चुनौतीलाई निर्णायक मानिएको छ । संसद् प्रवेश गर्ने दाउमा रहेका खरेल र शर्मा दुवै जना स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित छन् ।
२०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रका मतदाताबाट अनुमोदित नेकपा एमालेका उम्मेदवारको पकड राम्रो रहेको मानिन्छ ।
निर्वाचनअघिदेखि नै नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिएका र ओलीको प्रत्यक्ष साथ सहयोग रहेकाले खरेललाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
पूर्व कानुन मन्त्री तथा महान्यायधिवक्ता, पार्टी संगठनमा समेत काम गरेको छवि र नयाँ अनुहार भएकाले पनि खरेलप्रति मतदाता आकर्षित हुने एमाले नेता–कार्यकर्ता दाबी गर्छन् । विगत र स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा पनि यो क्षेत्रका वडाहरूमा एमाले काँग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ
२०७० सालको संविधानसभाको निर्वाचन काँग्रेसका उम्मेदवार शर्मा एमालेका उम्मेदवार रविन कोइरालाले काँग्रेसका शर्मालाई हराएका थिए । २०७४ को पहिलो प्रतिनिधिसभाको निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका सुरेन्द्रकुमार कार्कीसँग समेत पराजित भएसँगै शर्माको तत्कालिन संसदको यात्रामा पूर्ण विराम लाग्यो ।
यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ओलीन राजवंशी, राष्ट्रिय जनमुक्ति पार्टीका चित्रहाङ जबेगु, हाम्रो नेपाली पार्टीका ठण्डबहादुर अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदममाया लिम्बु, नेपालका लागि नेपाली पार्टीका मुकुन्द दाहाल, जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोला, जनता समाजवादी पार्टी नेपालका राधा थापा, नेपाल जनता पार्टीका रामकुमार काफ्ले मंगोल नेश्नल अर्गनाइजेसनका सन्तोष तामाङ चुनावी मैदानमा हुनुहुन्छ । केन्द्रकुमारी दाहाल, बिकाश राजवंशी, विदुरकुमार खतिवडाले भने स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
भौगोलिकरुपमा मेचीनगरको १५ वटै वडा, बुद्घशान्ति गाउँपालिकाका ४,५,६ र ७ गरी चारवटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० दुईवटा गरी २१ वटा वड यो क्षेत्रमा पर्छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडागत रूपमा नेकपा एमालेको ३१ हजार २ सय २० मत देखिन्छ । काँग्रेससँग २५ हजार ४ सय ८२ मत देखिन्छ । नेकपा (माओवादी केन्द्र) सँग ३ हजार ४ सय ७५ मत छ भने नेकपा (एकिकृत) १ हजार २ सय ३७, लोकतान्त्रिक समाजवादी पार्टीसँग १ सय ४३ तथा जनता समाजवादी पार्टीसँग ६९ मत छ । राप्रपालगायत अन्य दलसँग ७ हजार ७ सय ८९ मत छ भने स्वतन्त्र उमेदवारको मत ४ हजार २७ छ । वडागत मतलाई जोड्दा गठबन्धनसँग ३० हजार २ सय ६३ मत हुन आउँछ । जबकी यो मत एमालेको भन्दा ९ सय ७५ मत कम हो ।
पछिल्लो स्थानीय निर्वाचनको मत परिणामका आधारमा एमालेका खरेल अगाडि देखिनु भएको छ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार भए पनि उहाँलाई जित निकाल्न कुनै पनि असहज भने देखिँदैन । पूर्व कानुन मन्त्री, महान्यायधिवक्ता राष्ट्रिय सभा सदस्यका रुपमा परीक्षण भइसक्नु भएकाले पनि ४ मंसिरको निर्वाचमा खरेललाई फाइदा मिल्न सक्ने अन्य दलका नेता कार्यकर्ता स्वयम् बताउँछन् ।
कानुन मन्त्री र महान्यायधिवक्ता भएका बखत जनमुखी काम गरेका कारण र एमालेले प्रदेशदेखि प्रतिनिधिसभामा अनुभवी र लोकप्रिय नेतालाई अघि सारेकाले पनि त्यसको फाइदा खरेलले लिने एमालेजनको भनाई छ । नेकपा एमालेप्रतिको देशभरको आकर्षण मतदाताका कारण पनि नेता खरेल उत्साहित हुनुहुन्छ ।
एमाले उम्मेदवार खरेलले एमालेले आफ्नो विरासतका कारण पुनः विजयी हुने विश्वास व्यक्त गर्नुभयो । कानुनमन्त्री र महान्यायधिवक्ता रहँदा गरेको कामको कारण फरक पार्टीका मतदाताले पनि आफूलाई मत दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ यो क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ जना मतदाता रहेका छन् ।