नयाँ मतदातामा उत्साह
विराटनगर । पहिलो पटक मतदान गर्ने मौका पाएका मतदाता आसन्न मङ्सिर ४ गतेको निर्वाचनलाई लिएर उत्सुक छन् ।
पहिलो पटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो की भन्ने डर पनि नयाँ मतदातामा रहेको पाइएको छ । शिक्षित र जागरूक भएको हुनाले आफूले इच्छा गरेको उम्मेदवारलाई खसालेको मतकोे सही सदुपयोग हुनेमा नयाँ मतदाता ढुक्क छन् ।
विराटनगर–४ कञ्चनबारी बस्ने नर्सिङ दोस्रो वर्षकी विद्यार्थी १९ वर्षीया विजेता दाहालले पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । उहाँ मङ्सिर ४ मा हुने मतदानमा भाग लिन आतुर हुनुहुन्छ । चार मतपत्रमा छाप लगाउनुपर्ने भएकाले कतै अलमलमा परिने हो की भन्ने चिन्ता उहाँलाई छ । मतपत्रमा छाप कसरी लगाउने र मतपेटिकामा मतपत्र पट्याएर कसरी बक्सामा खसाल्ने भन्ने बारेमा आफ्नी आमासँग सिकेको उहाँले बताउनुभयो ।
विराटनगर महानगरपालिका–२ बस्ने २० वर्षीया सुशीला विसुङ्ले आपूm मतदानलाई लिएर उत्सुक रहेको बताउनुभयो । उहाँले नअत्तालिकन कुनै गल्ती नगरी मतपत्रमा छाप लगाउने र मत खसाल्नेमा आफू ढुक्क रहेको बताउनुभयो । उहाँले पहिलो पटक मतदानमा भाग लिए पनि त्रुटीरहित मतदान गर्न आफूमा आत्मविश्वास रहेको बताउनुभयो ।
ग्रामथान गाउँपालिका–२ झोराहाट निवासी २० वर्षीया अनिषा बराइलीले पहिलो पटक मतदानको मौका पाउँदा खुसीको कुनै सीमा नरहेको बताउनुभयो । उहाँले मत कसरी खसाल्ने भनेर अलि–अलि मनमा डर लागिरहेको सुनाउनुभयो । उहाँले समाजमा पिछडिएर रहेका समुदाय, वर्गको विकासमा लागिपर्ने उम्मेदवारलाई आफ्नो पहिलो मत खसाल्ने बताउनुभयो ।
विराटनगर–३ कानुन क्याम्पस पूर्व घर भएका प्रेम घिमिरे पहिलो पटक मतदानमा आफूले दिएको मत खेर नजाओस् भन्नेमा सजग हुनुहुन्छ । आफूभन्दा उमेरले धेरै पाका उम्मेदवार घरैमा आएर हात जोडेर मत मागेको देख्दा रमाइलो लागेको घिमिरेको भनाइ छ । घिमिरेले मतदाता शिक्षालाई बृहत र व्यापक बनाएको खण्डमा आफू जस्तो पहिलो पटक मत खसाल्ने मतदाता पनि मतदान प्रक्रियाका बारेमा पूर्ण जानकार हुने बताउनुभयो ।
मोरङमा तीन सय छ मतदानस्थलका लागि आठ सय ३९ मतदान केन्द्र स्थापना गरिएको छ । मोरङमा तीन लाख ७४ हजार तीन सय २६ पुरूष, तीन लाख ६१ हजार एक सय ९३ महिला र अन्य छ गरी कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेका छन् ।