अर्जुनधारा जलेश्वरधाममा सप्ताह ब्रह्माण्ड महापुराण शुरु
इन्द्रकुमार राई
शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधामको ४० औं बार्षिक अनुप्ठानको रुपमा सप्ताह ब्रह्माण्ड महापुराण बिहीबार देखि शुरु भएको छ ।
महापुराण उद्घाटन समारोहका प्रमुख अतिथि तथा पार्वती मन्दिर निर्माता शोभादेवी बस्नेतले पानसमा बत्ती बालेर विधिवत रुपमा पुराणको उद्घाटन गरेकी हुन् । पण्डित हेमन्त भण्डारी उपवाचक रहने सप्ताह व्यापी ब्रह्माण्ड महापुराणको प्रमुख कथा वाचक पण्डित कुबेर सुवेदीले कथा उद्घाटन गरेका थिए ।

त्यसैगरी धामका दाता तिलरुपा खड्काले गल्ला र यज्ञमण्डप उद्घाटन गरेकी थिइन् भने धनमाया तिम्सिनाले धान्याचल पर्वतको उद्घाटन गरेकी थिइन् । समारोहमा अर्जुनधारा संस्कृत वेद – बिद्यापीठ ( गुरुकुल ) का विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए ।
सो अवसरमा विर्तामोड निवासी मोहन मित्तलले अनुष्ठान सफलताका लागि ५१ हजार रुपैयाँको चेक प्रदान गरेर सहयोग रसिदको उद्घाटन गरेका थिए । त्यस्तै दाताद्वय कमल बस्नेत र शोभादेवी बस्नेतले नगद ५१ रुपैयाँ सहयोग प्रदान गरेका थिए । धामका अध्यक्ष तथा पुराण आयोजक मुल समितिका संयोजक नवीन गट्टानीले उद्घाटन कार्यक्रमको सभापतित्व गर्दै धाम परिसरमा नयाँ निर्मित भौतिक संरचनाहरुको बारेमा अवगत गराए ।
गट्टानी अनुसार १०८ शिवलिङ्गसहित निर्मित पार्वती मन्दिर आगामी महाशिवरात्री पर्वका दिन समुदघाटन गरिने भएको छ । धाम कार्य समिति सदस्य तथा उद्घोषक विभागका संयोजक भानुप्रसाद शिवाकोटीले संचालन गरेको कार्यक्रममा विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले यस धामको महान् कार्यहरुमा भक्तजनहरु दर्शन गर्न आउँदा सके आर्थिक सहयोग गर्ने नसके भगवानलाई रिस, आरिस, घमण्ड जस्ता नकारात्मक कुराहरु चढाएर जानु सबैभन्दा उत्तम हुने बताए ।
शंकाराचार्य वेद –बिद्यापीठ साधुटारका ब्यासाचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले धर्मका नाममा विभिन्न साम्प्रदायहरु फैलिरहेको बताए । धर्म भनेको एक मात्र वेद हो । वेद हिन्दू सनातन धर्म हो । अहिले धर्म, संस्कार हराउँदै गईरहेको उनको भनाइ थियो । धर्मको रक्षा र अधर्मको नाश गर्नपर्छ । कार्यक्रममा धामका दाताद्वय कमल बस्नेत, मोहन मित्तल, उपाध्यक्ष भिमचन्द्र भट्टराई मुख्य पुजारी अग्निप्रसाद सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि झाँकी सहित कलशयात्राले नगर परिक्रमा गरि कार्यक्रममा परिणत भएको थियोे । पुराण मंसिर ६ गते बालाचतुदर्शीका दिन समापन हुने बताइएको छ ।