झापामा सबै मतदानस्थल तयार, विहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान हुने
बिर्तामोड । मंसिर ४ गते हुने निर्वाचनको लामो पर्खाइको अन्त्य भएको छ । निर्वाचनको मिति घोषणापछि सबै क्षेत्र निर्वाचनमा होमिएको थियो । भोली विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न हुने मतदानपछि परिणामको मात्र पर्खाइ बाँकी रहनेछ ।

झापामा मतदानका लागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ । सबै बुथ र मतगणनास्थल समेत तयार भएको निर्वाचन अधिकारी तुलसी प्रसाद नेपालले जानकारी दिए । उनका अनुसार जिल्लाका ७६६ मतदान र अस्थायी प्रकृतिका २ वटा मतदान स्थलको निर्माण पुरा भइसकेको छ । स्वच्छ, भयरहित निर्वाचका लागि सोही अनुसारको व्यवस्थापन मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान गर्ने एक दिन अघिबाटै बजार क्षेत्रमा चहलपहल घटेको छ । मतदानका लागि आफ्नो क्षेत्र जाने मतदाताका कारण चहलपहल घटेको हो । जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका छन् । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।