झापामा ०७४ को तुलनामा ४.१७ प्रतिशत मत कम खस्यो
बिर्तामोड । आइतवार सम्पन्न निर्वाचनमा मतदातामा उत्साह घटेको पाइएको छ । मतदातामा उत्साह कम देखिएको खसेको मतले समेत पुष्टि गरेको छ ।
बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा झापामा मतदाताले निर्वाचनमा उत्साहित नभएको सन्देश दिएका छन् । जिल्लाका सबैजसो मतदान केन्द्रमा मतदाताको उपस्थिति असाध्यै पातलो थियो ।

झापामा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २ सय ५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ रहेको छ । २०७४ को निर्वाचनमा ७१ दशमलव ४४ प्रतिशत मत खसेको थियो ।
क्षेत्र नं. १ मा ८७ हजार ३ सय ९६ (७२.६०), क्षेत्र नं. २ मा ८७ हजार ७ सय २३(६५.४२), क्षेत्र नं. ३ मा ८९ हजार ६ सय ३७ (६८.२०) , क्षेत्र नं. ४ मा ७९ हजार ३ सय ४९ (६४.४४) र क्षेत्र नं. ५ मा १ लाख २ हजार १५० ( ६६.२०) प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
०७४ को निर्वाचमा क्षेत्र नं. १ मा (७१.०१), क्षेत्र नं.२ मा (७२.४६), क्षेत्र नं. ३ मा (७२.६४), क्षेत्र नं. ४ मा (७०.५६) र क्षेत्र नं. ५ मा (७०.३३) प्रतिशत मत खसेको थियो । ०७४ को तुलनामा ४.१७ प्रतिशत कम मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुरा गरेर मतगणना शुरु गरिने छ । क्षेत्र नं. २ मा २ बिहान २ बजेदेखि मत गणना गरिने भएको छ ।