सालबारी । धरानको एन्फा एकाडेमी झापा अर्जुनधारा– ९ स्थित नमुना खेलमैदानमा आयोजित दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबारदेखि सुरु प्रतियोगितामा डाँगीहाट एफसी मोरङमाथि कठिन जित निकाल्दै धरान अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि निर्णय लिन टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरबाट पनि निर्णय ननिस्किएपछि खेल सडनडेथमा पुगेको थियो । धरानले सडनडेथमा ९–८ गोलअन्तरमा मोरङलाई पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोलीले दोस्रो हाफमा बराबरी गोल गरे । पहिलो गोल मोरङका लागि खेलको ६५औँ मिनेटमा विक्रम धिमालले गरेका थिए ।
तर, तीन मिनेटपछि पाएको पेनाल्टीमार्फत धरानका कप्तान सेवन थापामगरले गोल गरेर बराबरीमा पुराए । सडनडेथमा मोरङका सुनिल खवासको प्रहार बाहिरिँदा रजित परियारको प्रहार धरानका गोलरक्षक दिपक थापामगरले रोकेका थिए । यस्तै, धरानका कप्तान सेवन थापामगरको प्रहार मोरङका गोलरक्षक रोशन कार्कीले रोके । खेलको म्यान अफ दी म्याच धरानका गोलरक्षक दिपक थापामगर भए । उनले नगद २ हजार पाए । नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा आज ललितपुरको सुनाकोठी सिटी एफसी र ध्रुवतारा स्पोर्टिङ क्लब दमकबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने छ । नमुना सामुदायिक युवा क्लब अर्जुनधाराका अध्यक्ष आरके महतराको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अर्जुनधारा ९ का खेलकुद समिति संयोजक सुरेन राईले स्वागत गरेका थिए ।
प्रकाशित मिति :
पुष १, २०७९ शुक्रबार ८ :
३३ बजे