गुणस्तर धान विक्री गरौं
सम्पादकीय
सरकारले धानको समर्थन मुल्य तोकेर पनि कार्यान्वयन गर्न सकेको छैन । किसानले धानबाली उठाइसक्दा पनि विक्री गर्न सकिरहेका छैनन् । धानबाली लगाउँदा लिएको कर्जा तिर्न समस्यामा परेका किसान बाध्य भएर व्यापारीकै मुल्यमा धान विक्री गरिरहेका छन् । धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिलेसम्म कुनै तयारी गरेको छैन । हरेक वर्ष सरकारले धानको समर्थन मुल्य तोकेर किसानबाट धान खरिद गरिरहेको छ । यो वर्ष सरकार किसानप्रति गैरजिम्मेवार भई प्रस्तुत भएको छ । सरकारको यो कदमले किसान ठुलो मारमा परेका छन् ।
हरेक वर्ष धान विक्री गर्ने बेला किसानले लडाई नै गर्नुपर्छ । धानको उचित मुल्य पाउन नसक्दा किसानको लगानी समेत व्यर्थ भइरहेको छ । कृषि क्षेत्रको लागि सरकारको नीति नै बेठिक देखिन्छ । किसानलाई राहत हुने गरिका कुनै कार्यक्रम आउदैन । किसानलाई कृषि क्षेत्रबाटै पलायन हुने गरी समस्यामा पारिएको छ । यसर्थ, किसानमाथि कुनै पनि प्रकारको अन्यायमा पार्न हुदैन । अहिले सरकारले तोकेको समर्थन मुल्य पाउनुपर्ने माग गर्दै किसानको नेतृत्व समेत आन्दोलनमा होमिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भर्खरै धान खरिद नगर्नुको कारण खुलाएको छ । हरेक वर्ष यो बेलासम्म धान खरिद गर्न शुरुआत गर्ने कम्पनीले अहिलेसम्म खरिद नगर्नुको कारणका रुपमा धानको गुणस्तरलाई अगाडि सारेको छ । अहिले नै धान खरिद गर्दा गुणस्तर नहुने कुरा स्वभाविक पनि हो । खेतखेतबाटै उठाइएका धान राम्रोसँग सुकाइएको हुदैन । जसका कारण खाद्यले त्यसैको चामल बनाउछ । तर, अपेक्षाकृत विक्री हुदैन । खाद्यको चामल समेत गुणस्तरीय नहुने हुँदा उपभोक्ता चामल खरिद गर्दैनन् । चामल विक्री नै नहुने धान खरिद रोक्नुपर्छ, कि किसानले पनि गुणस्तरीय धान उपलब्ध गराउनुपर्छ ।