विद्यार्थीमाथि कुटपिट गर्ने साङ्गवेद मावि चारपानेका प्रअलाई जिम्मेवारीबाट हटाइयो
बिर्तामोड । झापा बिर्तामोड –२ स्थित चारपानेमा रहेको श्री साङ्गवेद संस्कृत माविका विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले गत मंसिर २१ गते एक विद्यार्थीमाथि निर्घात कुटपिट गरेको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यालयका प्रअ न्यौपानेले विद्यार्थीले विद्यालय परिसमा गीत गाएको कारण उनलाई घोप्टो पारेर मुक्का हानेको प्रत्यक्षदर्शी विद्यार्थीहरु बताउँछन् ।
प्रअले विद्यार्थी पिताम्बर पौडेलमाथि निघार्त कुटपिट गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए । उनीहरुले मंसिर २१ गतेदेखि नै प्रअको राजीनामा माग गर्दै लगातार कक्षा बहिस्कार गरेका छन् । मंसिर २१ गते नै भएको घटनाको समाधानमा विद्यालय व्यवस्थापनले भने पुस ४ गतेबाट मात्रै पहल गरेको विद्यार्थीको भनाई छ । लामो समयसम्म छलफल नहुँदा पढाईमा असर गरेको एक विद्यार्थीले इजलाससित बताएका छन् ।
एक विद्यार्थी भन्छन् ‘विद्यार्थीहरुले विद्यालयमा कलाकार बोलाएर गीत गाउन लगाउँने तर हामीले गाउदा पिट्ने ? गुरुले राजीनामा मात्र दिएर हुँदैन हामीसँग प्रियर लाइन मै माफी पनि माग्नु पर्छ । अन्यथा हाम्रो आन्दोलन रोकिदैन ।’
विद्यालय व्यवस्थापन समितिले मंगलवार विद्यार्थी, शिक्षक, शिक्षक अविभावक संघ, नगर शिक्षा शाखा र जनप्रतिनिधिसहितको छलफल राखेको थियो । उक्त छलफलले प्रअलाई राजीनामा गर्न लगाई सकेको शिक्षक सोमनाथ गौतमले जानकारी दिए । प्रअको राजीनामा स्वीकृत भइसकेको छ, एक विद्यार्थीले भने – प्रअबाट राजीनामा दिएर मात्र हुदैन, उहाँले विद्यार्थीसँग माफी माग्नैपर्छ । विद्यालयको प्रअको जिम्मा शिक्षक छविराज रेग्मीलाई दिइएको छ ।
दुई दिनअघि शिक्षक, विद्यार्थीमाथि स्थानीयले पनि कुटपिट गरेको बुझिएको छ । स्थानीयले सोमनाथ गौतम, चम्पा खनाल, छविराज रेग्मी, श्याम दाहालमाथि कुटपिट गरेको भन्दै विद्यार्थीले छानविनको माग राखेका छन् ।