विद्यार्थी कुटपिटको घटनामा मेलमिलाप नगर
सम्पादकीय
झापामा केहि दिनयता निरन्तर विद्यार्थीमाथि भइरहेको कुटपिटको घटना सार्वजनिक भइरहेको छ । यसअघि पनि कुटपिटका घटना नभएका होइनन् । तर, अहिले विद्यार्थीहरुले आफ्नो अधिकारको निमित्त आवाज उठाइरहेका छन् । विद्यार्थीले आवाज उठाइरहेकै कारण घटना बाहिर आइरहेको छ । नेपालको संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ । तर, त्यसको व्यवहारिक कायान्वयन भइरहेको पाइदैन ।
विद्यालय भनेको विद्यार्थीका लागि मन्दिर हो । ज्ञान आर्जन गर्ने मन्दिरमा विद्यार्थीमाथि भइरहेको अन्याय र अत्याचार सहनयोग्य छैन । विद्यार्थीहरुमाथि विभिन्न बहानामा भइरहेको कुटपिटको घटना अमान्य छ । यसको समाधान भनेको पीडकमाथि कानुनी कारबाही नै हो । गोल्धापमा रहेको चिल्ड्रेन गार्डेनका शिक्षकले चार जना विद्यार्थीलाई ३४-३४ भाटा हिर्काएको सार्वजनिक भयो । एक जना विद्यार्थीको शरिरको आधा भाग निलो भएको छ । तर, त्यो घटनालाई मेलमिलाप गराइएको छ । मेलमिलाप गराउन वडाध्यक्ष, स्थानीय भद्रभलाद्मी, विद्यालय प्रशासन, प्रहरीले भूमिका निर्वाह गरे ।
यस्तै, घटना बिर्तामोड २ को संस्कृत विद्यालयमा सार्वजनिक भएको छ । त्यहाँका प्रधानाध्यापकलाई जिम्मेवारीबाटै हटाइएको छ । विद्यालयमा विद्यार्थीलाई सचेत गराउन सकिन्छ । तर, विद्यार्थीलाई नै अमान्य हुने गरि कुटपिट गर्न पाइदैन । अझ विद्यालयमा शिक्षकले विद्यार्थीमाथि कुटपिट गर्ने अधिकार राख्दैनन् । बालअधिकारको सवाल छ । उनीहरुलाई कुनै प्रकारको यातना दिने शिक्षकहरुलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक छ । जबसम्म मेलमिलाप गराइन्छ, तबसम्म यस प्रकारका घटना भइरहनेछन् । यसैले बेलैमा अभिभावक सचेत भएर विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई कानुनी कारवाही गर्नबाट पछि हट्नुहुन्न ।