अप्ठ्यारोमा लेखनाथ पुस्तकालय
गगन ढकाल
झापा । झट्ट बाहिरबाट हेर्दा हार्डवेयर पसल जस्तो देखिन्छ, झापा जिल्ला सदरमुकामस्थित चन्द्रगढीमा रहेको लेखनाथ पुस्तकालय । अलि नियालेर हेरेपछि मात्र माथि रङ उडेको शब्दमा देखिन्छ – लेखनाथ पुस्तकालय, स्थापना वि.सं. २०३७ साल पुष २६ गते ।
पुस्तकालयले आफ्नो आयआर्जनको निम्ति बाटो तिर फर्केको आफ्नो एक कोठा हार्डवेयर पसललाई मासिक आठ हजारको दरले भाडामा दिएको छ । पुस्तकालयका अध्यक्ष हरी प्रसाद न्यौपाने उक्त कोठाबाट प्राप्त हुने रकम मात्र पुस्तकालयको एउटै नियमित आम्दानीको स्रोत भएको बताउँछन् । उनी भन्छन् ‘आम्दानी भनेको आजीवन सदस्यताको रु २१ सय र भाडामा लागेको यही कोठा हो । यो कोठाबाट प्राप्त रकमले एक पुस्तकालय हेर्र्ने एक जना मान्छे पनि राखेका छौँ । उनलाई मासिक छ हजार दिने गरेको छ ।’
राज्यको तीन तहको संरचनाले पुस्तकालयलाई वेवस्ता गरेको कुरा त्रिफला राष्ट्रिय पुस्तकालयमा सञ्चालक प्रेम प्रकाश फलाहारीले बताउछन् । लेखनाथ पुस्तकालयको पनि भोगाइ उस्तै छ । लेखनाथ पुस्तकालयका अध्यक्ष न्यौपानेले भने, ‘सरकार भन्नु मात्र हो, उहाँहरुलाई पुस्तकालय सम्बन्धी ख्यालै हुन्न । पुस्तकालय बचाउनु पर्छ भन्ने खै किन हो उहाँहरुलाई लाग्दैन ।’
पठन संस्कृतिप्रति जनप्रतिनिधिहरुको धारणा खासै राम्रो नरहेको अध्यक्ष न्यौपानेको बुझाई छ । उनी भन्छन् ‘लेखनाथ जयन्तीको दिन पुरस्कार वितरणको कार्यक्रम पुस्तकालयले आयोजना गरेको थियो र आतिथ्यका निम्ति नगरको प्रमुख, उपप्रमुख दुवैलाई बोलाएका थियौं । तर कोही आउनु भएन । कार्यक्रममा बोलाउँदा त नआउने उहाँहरुले हामीलाई आर्थिक सहयोग त झनै के गर्नु हुन्थ्यो होला र ?’
पुस्तकालयमा एक सय ४४ जना आजीवन सदस्यहरु रहेका छन् । २१ सय तिरेर आजीवन सदस्यता लिएकाहरुले पुस्तकालयबाट २० दिन पुस्तक घरै लगेर पढ्ने व्यवस्था रहेको छ भने उक्त सदस्यता नलिएको पाठकले घर लगेर पुस्तक पढ्न पाउँदैनन् तर पुस्तकालयमै बसेर भने निशूल्क पुस्तक पढ्न पाउने व्यवस्था गरिएको छ । करिब ४२ वर्ष लामो इतिहस बोकेको पुस्तकालयको हालसम्मको नेतृत्वकर्ताहरुको नाम पुस्तकालयले व्यवस्थित गरेर राख्न भने सकेको छैन । यति लामो इतिहास बोकेको यो पुस्तकालयले भने आफ्नै इतिहासलाई पनि व्यवस्थित गर्न सकेको छैन । राज्यले मात्रै पुस्तकालयलाई नहेरेका होइनन् । लेखनाथ पुस्तकालयको एक महिनाको डाटा हेर्दा युवा पुस्ताले पनि पुस्तकालयलाई हेर्न छाडिसकेको पाउन सकिन्छ । अध्यक्ष न्यौपाने भन्छन् ‘प्रविधिको कारणले होला युवाहरु खासै पुस्तकालय आउनु हुन्न । युवाहरुलाई पुस्तकालयमा भएका १० हजार पुस्तकहरुले पर्खि रहेको छ । ’
मेचीनगरस्थित धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयमा पनि युवाहरुको आकर्षण छैन नै भन्दा पनि हुन्छ । तर झापाको सर्वाधिक पुस्तक बिक्रेता सम्पूर्ण पुस्तक पसल बिर्तामोडमा भने पुस्तक खरिद गर्न युवाहरु पनि बाक्लै गरी आउँने पुस्तक पसल सञ्चालिका अञ्जना दाहाल बताउँछिन् । उनी भन्छिन् ‘नव पाठकहरुको रोजाइमा विशेष गरी उत्प्रेरणा दिने पुस्तकहरु र प्रेम कथाका पुस्तकहरु अधिक पर्छन् ।’, उनी भन्छिन् ‘नयाँ पाठकहरुले बजारमा नाम सुनिरहेका लेखकहरुको पुस्तक धेरै खोज्छन् ।’
पुस्तकालयहरुमा पुस्तक पसलकी सञ्चालिकाले बताए अनुसारको कुनै पनि पुस्तकहरु पाउन सकिदैन । पुस्तकालयका सञ्चालकहरु यस किसिमको पुस्तक खरिद गर्नुपर्ने र उक्त बजेट आफूहरुसँग नभएको बताउँछन् ।