जेष्ठ २, २०८२ बिहीबार

तालावन्दीपछि कृषिथोकका व्यवसायी असन्तुष्ट

बिर्तामोड । सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा तालावन्दी गरेपछि बिर्तामोडस्थित कृषिथोकका व्यवसायीहरु असन्तुष्ट बनेका छन् । कृषिथोक बजार व्यवस्थापन समितिले मंगलवार सम्झौता र निर्देशिका विपरित व्यवसाय सञ्चालन गर्ने २० जना व्यवसायीको सटरमा तालावन्दी गरेको थियो ।

कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका–२०७३ ले कृषिथोक बजारभित्र कृषिवस्तु बाहेकको व्यापारलाई मान्यता दिदैन । सोही निर्देशिकाको कार्यान्वयनका लागि भन्दै व्यवस्थापन समितिले तालावन्दी गरेको छ । एकैदिन २० व्यापारीका २८ सटरमा ताला लगाएको समितिले सम्झौता अनुसार आए ताला खोलिदिने जनाएको छ ।

कृषिथोक स्थापनाकालदेखि व्यापार गर्दै आएका इन्द्रजित चौधरीले व्यवस्थापनका नाममा समितिले व्यवसायिलाई आतंकित बनाएको आरोप लगाएका छन् । उनले सम्झौता अनुसार व्यापार गरिरहेका व्यापारीको सटरमा समेत ताला लगाएको बताए । चौधरीले भने, –‘बजार शुरु गर्ने व्यापारी हो हामी, अहिलेसम्म कुनै समितिले सम्झौता विपरित भनेको थिए । यो समितिले पूर्वाग्रही भएर व्यवसायीलाई आतंकित बनाएको छ ।’

यसअघिको समितिले दिएको सम्झौता र तोकेको व्यापारमा अहिलेको समितिले केहि गर्न सक्दैन, चौधरीले भने – मैले सम्झौता विपरित व्यापार गरेको छैन । मेरोमा ताला लगाईयो ।

कृषिथोकमा समितिले लालबाबु शाह, सुनिल शाह, बद्री चौधरी लगायतका व्यवसायीले समितिले तोकेकै व्यवसाय गर्दै आएको जनाएका छन् । चौधरीका अनुसार बजार सुधारमा आवाज उठाउदा उल्टै तालावन्दी गरिएको छ । व्यवस्थापन समितिले दादागिरीशैलीमा व्यवसायीलाई त्रसित बनाइएको भन्दै तत्काल व्यवसाय गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । व्यापारीहरुलाई बोराको खाँचो छ भन्दै अघिल्लो समितिले व्यापारका लागि छुट दिएको थियो, उनले भने – समितिले तोकेको व्यवसाय गर्न पाउने छुट निर्देशिकामा छ ।

यस्तै, पवित्रा उप्रेतीले डोको नाम्लो व्यवसायलाई समितिले गैरकृषि भन्दै पसल बन्द गरेको गुनासो राखिन् । उनले बाँसको चोयाबाट बुनेको सामग्री कृषिजन्य हुने बताइन् । ०४६-४७ देखि व्यवसाय गर्दै समितिमा नविरकण गरेर व्यवसाय गरिरहेको जानकारी दिइन् । अहिलेसम्म डोको नाम्लोलाई कृषिजन्य होइन भन्दै कुनै समितिले भनेको थिएन, उप्रेतीले भनिन्, अहिलेको समितिले ज्यादती गरेको छ । उनले आफुहरु मिल्ने व्यवसाय गर्न तयार छौं भन्दै तत्काल तालावन्दी खोल्न आग्रह गरिन् । उनले बजारकै दिन व्यवसाय बन्द भएको भन्दै क्षतिपूर्तिको समेत माग गरेकी छन् । एकदिन भाडा बुझाउन ढिला भयो भने फाइन लाग्छ, पसल बन्द हुँदा कसले क्षतिपुर्ति दिन्छ , उप्रेतीले थपिन् ।

अर्का व्यवसायी कृष्ण प्रसाद खतिवडाले ०६७ सालदेखि डोको नाम्लोको व्यापार गर्दै आएको बताए । उनले डोको नाम्लो कृषिजन्य सामग्रीमा पर्ने दावी गरेका छन् ।

उक्त अभियानका संयोजक खगेन्द्र महतोले निर्देशिका पालना गर्न सहमत ८ जना व्यवसायीको सटर खोलिदिने सहमति भएको जानकारी दिएका छन् । उनले अघिल्लो समितिहरुले ०६२-६३ को निर्देशिका अनुसार सम्झौता गरेका कारण नयाँ समितिले ०७३ को निर्देशिका पालना गर्नुपर्ने बताए । पछिल्लो निर्देशिकालाई समितिले मान्यता दिन्छ, अघिल्लो निर्देशिकाको अहिले अर्थ छैन, महतोले भने । उनले निर्देशिका बमोजिम व्यवसाय गर्न तयार हुने व्यवसायीको ताला खोलिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]