देश हल्लाउने मृत्यु
सम्पादकीय
इलामका प्रेमप्रसाद आचार्यले मंगलवार संसद भवन अगाडि जीवन त्याग गरे । भौतिक रुपमा उनको शरिर रहेको छैन । तर, उनले जीवनको अन्तिममा देशभित्रका केहि कुरुप दृष्यलाई सार्वजनिक गरेर विदा भए । आफ्नो मृत्यु राज्य सत्तालाई प्रत्यक्ष देखाइदिए । जीवनका आरोहअवरोहरुको वृत्तान्त सार्वजनिक गरेका आचार्यले देशका व्यापक विसंगतिका बारेमा स्पष्ट समेत बनाए । उनको प्राण त्यागलाई विभिन्न कोणका प्रतिक्रियाहरु दिइरहेको पाइन्छ । बुधबार विहान उनको मृत्यु नै भयो । जीवन संघर्षमा गरेका धेरै प्रयासहरुका बारेमा उनले लेखेका धेरै कुुराहरु अन्य संघर्षरत व्यक्तिहरुमा समेत मेल खाएको हुनुपर्छ ।
आफ्नै देशमा केहि गरौं भन्ने चहानामा उनले कसैको साथ सहयोग पाएनन् । राज्यको नीति गरिखाने बनाउन सक्ने अवस्थामा छैन । विचौलिया र ठुला व्यापारीले बनाएको नीति अनुसार ससाना उद्यम गर्नेहरुका लागि सहज छैन । यस्तै, चेपुवामा परे आचार्य । तर, उनले रोजेको बाटो सहि छैन । उनले रोजेको बाटो बेठिक हो, तर भोगेका समस्याहरु यथार्थ हुन् । सरकारी निकाय, नीजि क्षेत्र र ठुला व्यापारीहरुका कारण सर्वसाधरणको जीवन अप्ठ्यारोमा छ । बाँचुञ्जेल सहयोग नपाएका आचार्यले श्रीमतिलाई सहयोगका लागि अपील गरेर विदा भए । सोही अपीलका आधारमा धेरैले सद्भाव समेत राखिरहेका छन् । सहयोग गरिरहेका छन् ।
गरिवहरु गरिव नै भइरहने, धनीहरु धनी नै भइरहने नीतिगत व्यवस्था छ । जसलाई सामान्य मान्छेहरुलाई उठ्नै दिएको छैन । व्यापार कै क्षेत्रमा कुरा गर्ने हो भने ठुला मार्टहरुले उत्पादकहरुलाइ निकै समस्यामा पारेका रहेछन् । बैंक तथा वित्तीय संस्थाहरु व्यवहारिक हुन सकेनन् । लोभलालचमा जकडिएको नेपाली समाजमा परिवारभित्रै सहयोगको वातावरण बन्न सक्ने अवस्था छैन । जहाँ जे काम गरे पनि अप्ठ्यारोमा पर्ने भागाई उनले सार्वजनिक गरे । यो घटनापछि सबैले मम गरौं । कतैं मेरोका कारणले कोहि समस्यामा त परेको छैन । सानो सहयोगका कारण कोहि ठुलो समस्याबाट मुक्त हुन्छन् कि भन्ने सोच्न जरुरी छ । यो देश हल्लाउने मृत्यूका बारेमा गम्भीर बन्न आवश्यक छ । देशमा गरिखाने वातावरण बनाइयोस् । विचौलियाहरुलाई हदैसम्मको कारवाही गर्दै ठगी धन्दाका नाइकेहरुलाई जेलमा थुनौं । फेरि, कोहि प्रेम आचार्यको बाटोमा हिड्नु नपरोस् । विचौलियाहरुको मारमा कोही पर्नु नपरोस् ।