जेष्ठ १, २०८२ बुधबार

बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको तयारी तीब्र

बिर्तामोड । फागुन ५ गतेदेखि १५ गतेसम्म हुने बिर्तामोड अन्तराष्ट्रिय औधोगिक व्यापार महोत्सव–२०७९ को उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने भएका छन् । सभामुख घिमिरे यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

बिर्तामोड उधोग वाणिज्य संघले आयोजना गर्ने व्यापार महोत्सव बिर्तामोड–२ को रामचोक,चारपानेको मध्य भागमा आयोजना गरिएको छ । महोत्सव स्थलमा संरचना निर्माणको काम शुरु भएको छ । महोत्सवस्थलमा अहिले खेल तमासाका संरचनाहरु धमाधम निर्माण भइरहेको आयोजक बिर्तामोड उधोग वाणिज्य संघले जनाएको छ ।

सोमवार महोत्सव तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा १५० वटा स्टल बुकिङ भइसकेको जानकारी दिइएको छ । महोत्सवमा २ सय स्टल रहनेछन् । आयोजक संस्थाका अनुसार ३ लाख दर्शकले महोत्सवको अवलोकन गर्नेछन् भने ४५ करोडको कारोवार हुनेछ ।

महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको प्रर्वद्धन गर्नुका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले महोत्सवलाई चार भागमा विभाजन गरिएको जानकारी दिए । प्रर्दशनी तथा विक्री कक्ष, सांस्कृतिक तथा साङ्गितिक क्षेत्र, वाल उद्यम तथा मनोरञ्जन क्षेत्र र खानपिन क्षेत्र छुट्याइएको न्यौपानेले बताए ।

महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बताइएको छ ।
प्रदेश १ को कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत विकसित र सुगम स्थलका रुपमा रहेको बिर्तामोडमा शुरु हुन लागेको महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन कुमार मैनालीले बताए ।

यसैबीच महोत्सव सञ्चालनमा सुरक्षा प्रवन्ध व्यवस्थित गर्ने सन्दर्भमा सोमवार साँझ सुरक्षा प्रमुखहरुसँग आयोजक समितिले अन्तरक्रिया गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षक समेतको उपस्थितिमा भएको छलफलमा सुरक्षाको प्रत्याभूति र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

छलफलमा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्की, सशस्त्र प्रहरी वेश क्याम्प शनिश्चरेका प्रहरी नायव उपरीक्षक उदय न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोक जवेगू सहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]