जेष्ठ १, २०८२ बुधबार

बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सव शुरु

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका छन् । महोत्सवमा नेपाल सहित भारत, वंगलादेश र पाकिस्तानको समेत व्यवसायिक स्टलहरु रहने आयोजक समितिले जनाएको छ ।

आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४५ करोड रुपैयाँ बरावरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

महोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक रूपमा देश समृद्ध बनाउनका लागि सरकार र नीजि क्षेत्र दुवै मिलेर चुनौतिहरूको सामना गर्नु पर्ने धारणा राखेका छन् ।
उनले देशको अर्थतन्त्र संकटमा पर्दै गएको र सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै सभामुख घिमिरेले प्रशंसा व्यक्त गरे । उनले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य संघले भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सदैब सहयोग गर्ने बताए ।
सभामुख घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखे । उनले महोत्सव सफल बनाउन निजी क्षेत्र स्थानीय, प्रदेश र संघीय सरकारका साथै राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव प्रदेश १ कै गौरवको विषय भएको बताइन् । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने बिश्वास ब्यक्त गरिन् ।
उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नु पर्ने, महिला उद्यमीहरूले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानु पर्ने धारणा राखेकी थिइन् ।

कार्यक्रममा प्रदेश नम्वर १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आर्थिक मन्दीका कारण सरकारको अवस्था कमजोर रहेको बताए । मन्त्री सिटौलाले सरकारले लगानी गरेर दिएका तालिम अनुत्पादक हुनुका साथै लक्षित बर्गले अनुदान समेत प्राप्त गर्न नसकेको बताउँदै सहकारीका नाममा संगठित ठगी हुने गरेको बताए । उनले त्यस तर्फ समेत सरकारको ध्यान केन्द्रीत भएको धारणा राखे ।

कार्यक्रममा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरुको बजारीकरण गर्न खोज्नु सह्रानीय भएको बताए । उनले सरकार आउने र जाने क्रमले अर्थतन्त्रको विकासका लागि नीतिगत व्यवस्था हुन नसक्दा निजी क्षेत्र अफ्ठ्यारो स्थितिमा पुगेको बताए । आर्थिक व्यवस्था सुधारका लागि सरकारले निजी क्षेत्रसँग छलफल गर्नु अपरिहार्य भएको उनको भनाई थियो ।

कार्यक्रममा संविधानसभा सदस्य मनकुमार गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, कमला श्रेष्ठ, नेपाली कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका नेता छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवका विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले स्वागत सहित औचित्यमाथि प्रकाश पारेका थिए ।

यसैबीच बिर्तामोड उद्योग वाणिज्य संघले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गरेको छ । सम्मानित सभामुख र उपसभामुखको सम्मान पत्र संघका सचिव कुशल खतिवडाले वाचन गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]