जिल्लास्तरीय राष्ट्रपति शिल्ड सुरुङ्गामा
सुरुङ्गा। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको झापा जिल्लाको फाइनल खेल फागुन १२ देखि १४ सम्म सुरुङ्गामा हुने भएको छ ।
बिहीबार सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइयो । झापाका १५ वटा पालिकाको सहभागिता रहने गरी १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कबड्डी, एथलेटिक्स, भलिबल, टेबलटेनिस र मार्सल आर्ट विधामा हुने राष्ट्रपति रनिङ शिल्ड खेल–२०७९ व्यवस्थापन संयोजक तथा जिल्ला खेलकुद समिति प्रवक्ता जगन कार्की (दुर्वासा) ले जानकारी दिए ।
उक्त प्रतियोगिता सुरुङ्गास्थित कनकाई मावि, पशुपति अङ्ग्रेजी मावि र ग्लोबल एडुकेयर एकाडेमीको खेलमैदानमा सञ्चालन गरिने तय भएको छ । झापाका प्रत्येक पालिकाबाट १८ वर्ष मुनिका अर्थात् २०६१ साल चैत्र ११ गतेपछि जन्मेका ४ समूहका १८ वटा फरक फरक स्पर्धाका लागि ९२ जना विद्यार्थी खेलाडी गरी कुल १ हजार ३ सय ८० जनावीच प्रतिष्पर्धा हुने प्रवक्ता कार्कीले जानकारी दिए ।
यसअघि माघ २३ गतेदेखि २५ गतेसम्म पहिला चरणको पालिकाभित्रका खेलाडीवीच प्रतिष्पर्धा सम्पन्न भएको थियो । दोस्रो चरणको यो प्रतियोगिताबाट प्रथम स्थान प्राप्त खेलाडी तथा टीम इभेण्टमा १-१ टीम प्रदेशस्तरीय प्रतियागितामा सामेल हुनेछन् भने प्रदेशमा हुने प्रतियोगिताका विजयी खेलाडी चैत्रको पहिलो हप्ता आयोजना हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् ।
सो जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खेलका लागि प्रदेश सरकार प्रदेश खेलकुद विकास बोर्डबाट १० लाख रुपैयाँ र कनकाई नगरपालिकाबाट ३ लाख रुपैयाँ प्राप्त गर्ने जिल्ला खेलकुद विकास झापाका कार्यालय प्रमुख विष्णुप्रसाद नेम्बाङले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगर खेलकुद समितिका अध्यक्ष जबिन तिम्सिना, जिल्ला खेलकुद समिति उपाध्यक्ष गंगा कोइराला (भुर्तेल), सदस्यहरू चेतामणि खनाल, पूर्णिमा सिटौला, नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष मदन खडका, प्रदेश महासचिव लेखनाथ पराजुली, कराँते प्राविधिक समिति जिल्ला अध्यक्ष बद्री बिष्ट र सचिव दिपेश निरौला, कराँते खेल जिल्ला संयोजक दुर्गाराज निरौला, कन्काई माविका प्रअ कर्णबहादुर डाँगी, कनकाई खेलकुद समिति सदस्य एवम् भलिबल प्रशिक्षक राजु पाठक लगायतको उपस्थिति रहेको थियो ।