आचारसंहिता उल्लंघन गरेको भन्दै अनेरास्ववियुले बुझायो काँकरभिट्टा क्याम्पसलाई ज्ञापन पत्र
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले टीयूको कार्यतालिकालाई उल्लघन गर्दै मनोमानी शैलीमा कार्य गरेको भन्दै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले ज्ञापन पत्र बुझाएको छ ।
त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकरभिट्टा क्याम्पसले आचारसंहिता बिपरित जबर्जस्ती भर्ना गरिए पछि अनेरास्ववियुले त्यसको बिरोध गर्दै आज सहायक काँकरभिट्टा क्याम्पस प्रमुख बासु कोईराला र स्ववियु निर्वाचन परिचालन समिति संयोजक हेम खड्कालाई क्याम्पस पसरसरमा नै पुगेर ज्ञापन पत्र बुझाएको छ ।
आचारसंहिता लागु भएपछि पनि विद्यार्थी भर्नाको काम नरोक्ने, अनेरास्ववियुको पूर्व घोषित कार्यक्रम सुनियोजित तरिकाले रोक्ने लगायतका गतिबिधि भएपछि यसमा क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिको नियतमा प्रश्न चिन्ह उब्जेको अनेरास्ववियु काँकरभिट्टा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सन्देश पौडेलले बताए । उनले हाम्रो ज्ञापनपत्र लाई बेवास्ता गरिएको खण्डमा यसबाट उत्पन्न हुने सम्पूर्ण समस्याको जिम्मेवार क्याम्पस प्रशासन र निर्वाचन समिति हुने बताए ।
अनेरास्ववियु जिल्ला कार्यालय कमिटी सदस्य सन्तोष धमलाले क्याम्पसले विद्यार्थीका विरुद्ध गुन्डागर्दी गरेको बताएका छन् । उनले क्याम्पसले लामो समयपछि हुन लागेको स्ववियु चुनाव रोक्ने रणनीतिका साथ आचारसंहिता लागु भएपछि पनि विद्यार्थी भर्ना गरेको आरोप लगाए ।
यता काँकरभिट्टा बहुमुखी क्याम्पस प्रशासन र स्ववियु निर्वाचन परिचालन समितिले भने पूर्व सहमती अनुसार नै आफुहरुले फागुन १९ गते सम्म विद्यार्थी भर्ना गरेको बताउँछ । स्ववियु निर्वाचन परिचालन समितिले सबै विद्यार्थी संगठनको सहमतीमा नै त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता पालना गरेर अगाडी बढ्ने जनाएको छ ।
कार्यक्रममा अनेरास्ववियु काँकरभिट्टा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेल, जिल्ला कार्यालय कमिटी सदस्य सन्तोष धमला, सहायक काँकरभिट्टा क्याम्पस प्रमुख बासु कोईराला, काँकरभिट्टा क्याम्पसका शिक्षक तथा स्ववियु निर्वाचन परिचालन समिति संयोजक होम खड्का, काँकरभिट्टा क्याम्पसका शिक्षक तथा स्ववियु निर्वाचन परिचालन समिति सदस्य दुर्गाबहादुर लुइँटेल र शेरबहादुर बस्नेत (सुन्दर) लगायतको अनेरास्ववियु काँकरभिट्टा क्याम्पस कमिटीका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियु महिला विभाग संयोजक दुर्गा भण्डारीले ज्ञापन पत्र वाचन गरेकी थिइन् भने, सञ्चालन अनेरास्ववियुका संगम बरालले गरेका थिए ।