चारपानेमा घरेलु हिंसाविरुद्ध अभिमुखिकरण
बिर्तामोड । बिर्तामोड नगरपालिका –२ चारपानेमा आज घरेलु हिंसा विरुद्ध कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित कार्यक्रममा सहभागीहरुलाई महिला हिंसा र कानूनी प्रक्रियाका बारेमा जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पछिल्लो समय महिला हिंसासँगै पूरुष हिंसा पनि बढ्दै गएको बताए । उनले सामाजिक सञ्जाल प्रयोगमा सचेतना अपनाउन सबैलाई आग्रह गरेका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपप्रमुख संग्रौलालले लागुऔषधका कारण पनि विभिन्न प्रकारका हिंसा हुने गरेको भन्दै सभ्य समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताए ।
यस्तै कार्यक्रमकी प्रशिक्षक अधिवक्ता कविता शर्माले पछिल्लो तथ्याङ्क अनुसार समाजमा ८२ प्रतिशत महिला श्रीमानबाट पीडित रहेको बताएकी छन् । उनले महिलाहरुलाई यौनसँग मात्रै जोडेर हेर्ने गरिएको कारण हिंसा बढ्दै गएको उनको भनाई थियो । आत्मसम्मानमा चोट पुर्याउनु पनि हिंसा रहेको भन्दै उनले सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिइन् ।
ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी सुरज कार्कीले बिर्तामोडमा मात्रै वार्षिक १ सय ८० वटा भन्दा बढी हिंसाका मुद्वा दर्ता हुने गरेको जानकारी दिए ।
पुरुषको तुलनामा महिलाहरु बढी हिंसामा पर्ने गरेको भन्दै उनले हिंसाको घटना भएको मितिले ९० दिनभित्रमा प्रहरीमा उजुरी दिन सकिने बताए । डिएसपी कार्कीले सहभागीहरुलाई घरेलु हिंसाका बारेमा कसुर, सजाय, कानुनी प्रक्रिया र उपचारका बारेमा जानकारी दिए ।
कार्यवहाक वडाअध्यक्ष ओमनाथ गौतमको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, शर्मिला राजवंशी, संगिता सिवा, वडा सदस्य शर्मिला तिखत्री, चेतन विमली, सहारा नेपालकी कमला थपलिया लगायत ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।