बैशाख २८, २०८२ आईतबार

बिर्तामोडको शिक्षा सबैको आकर्षण हुने बनाउछौं : प्रमुख महतारा

झापाको बिर्तामोड नगरपालिका स्वास्थ्य र शिक्षाको मुख्य हब बन्दै गइरहेको छ । पूर्वी पहाडी जिल्लाहरु, झापाकै अन्य पालिकाहरुबाट यहाँ स्वास्थ्य उपचारका लागि अस्पतालहरु र अध्ययनका लागि शिक्षालयहरु रोजाईमा परेका छन् । झापाको मुख्य बजारको रुपमा स्थापित बिर्तामोड पछिल्लो समय शिक्षाको हब बन्ने अवस्थामा पुगेको छ । मन्टेश्वरी देखि डिग्रीसम्म पठनपाठन हुने बिर्तामोडमा नगरपालिकाले पनि शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

बिर्तामोडका विद्यालय तथा क्याम्पसहरुमा जिल्लाका सबै ठाउँहरुबाट हजारौं विद्यार्थीहरुको उपस्थिति हुनेगर्छ । त्यति मात्र होइन, बिर्तामोडमा बाह्य जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका विद्यार्थीहरुको संख्या पनि उल्लेखनीय रहेको छ ।

बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालयहरु रहेका छन् । त्यसै गरी दुई वटा धार्मिक विद्यालय र ११ वटा क्याम्पसहरु रहेका छन् । बिर्तामोडमा प्राविधिक विषय पढाई हुने सिटिइभिटिको कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् । यि शैक्षिक संस्थाहरुमा ३६ हजार बढि विद्यार्थीहरु अध्ययनरत रहेको नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

बिर्तामोडले शिक्षा क्षेत्रमा सबैभन्दा पहिले शैक्षिक संस्थाहरुको भौतिक पूर्वधारको सुधारलाई प्राथमिकतामा राखेर काम गरेको थियो । जस अन्र्तगत बालबिकासलाई पार्केटिङ गर्ने, विद्यालयहरुको भवन निमार्ण गर्ने, शौचालयको राम्रो प्रबन्ध गर्ने र खानेपानी व्यवस्थापनलाई विशेष प्राथमिता दिएको पाइन्छ । बिर्तामोडका सबै सामुदायिक विद्यालयहरुमा टाली लगाएर सुन्दर र सफा बनाएको शौचालयहरु मात्र छन् । विद्यालयका कक्षा कोठाहरु पनि प्रविधिमैत्री छन् ।

पालिकाले ०७४ सालदेखि नै सामुदायिक विद्यालयका एक/एक जना शिक्षकहरुलाई आइटीसँग सम्बन्धित तालिमहरु प्रदान गरिरहेको छ । साथै ल्यापटप पनि वितरण गरिरहेको छ । बिर्तामोडले सामुदायिक विद्यालयमा बालबिकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई दिवा खाजको प्रवन्ध मिलाएको छ । साथै नगरले प्राथमिक तहलाई केन्द्रित गरि प्राविधिक कक्षाहरुको पनि निमार्ण गरि सञ्चालन गरिरहेको छ ।

बिर्तामोडले बालबिकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई पोशाकको व्यवस्थापन गरेको छ । बिर्तामोडका सम्पूर्ण विद्यालयहरुमा संघीय सरकारको सहयोगमा सेनेटरी प्याडको व्यवस्थापन रहेको छ । त्यति मात्र होइन पालिकाले वार्षिक रुपमा विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्तिहरु प्रदान गर्ने गरेको छ ।

शैक्षिक क्षेत्रको भौतिक सुधारको काम लगभग सम्पन्न भएको बिर्तामोड नगरपालिकाको अबको कार्यदिशा भनेको शैक्षिक गुणस्तर निर्माणमा केन्द्रीत छ । विद्यालयका सिकाईलाई प्रविधिसँग जोडेर विद्यालय शिक्षालाई प्रभावकारी बनाउने बिर्तामोडको मुख्य योजना हो । विद्यार्थीहरुलाई जीवन उपयोगी प्रयोगात्मक शिक्षा प्रदान गरे मात्र विश्व बजारमा प्रतिस्पधा गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन हुने बिर्तामोड नगर शिक्षा प्रमुख भण्डारीको बुझाई छ ।

बिर्तामोडले इ–हाजिरी मार्फत शिक्षक कर्मचारीहरुको हाजिरीलाई व्यवस्थित गरेको छ । जसका कारण शिक्षकहरुले हाजिर छल्ने सम्भावना शून्य सरह भएको छ । पालिकाले अनुगमन समिति मार्फत विद्यालयहरुको अनुगमन गर्ने र शिक्षकहरुसँग छलफल सञ्चालन गर्ने गरेको छ । साथै, बिर्तामोडले शिक्षकहरुका निम्ति विभिन्न किसिमका तालिमहरुको आयोजना गर्ने गरेको छ । पालिकाले प्रधानाध्यापक र लेखा कर्मचारीलाई समेत हरेक वर्ष तीन दिने तालिमहरु प्रदान गरिरहेको छ ।

बिर्तामोड नगरपालिकामा शिक्षा सम्बन्धि ऐन थिएन । वि.स.२०७८ भदौ १४ गतेबाट मात्र नगर शिक्षा ऐन लागु भएको हो । बिर्तामोड संस्थागत विद्यालयको स्थरीकरण गर्ने मापदण्ड तयार गर्न लागि परेको छ । यस वर्षदेखि संस्थागत विद्यालयहरुले लिने शूल्क पनि नगरले नै निर्धारण गर्ने गरेको छ । जसले गर्दा विद्यालय सञ्चालकहरुले मनलाग्दी शूल्क तोक्न नपाउने भएका छन् । साथै, संस्थागत विद्यालयले सामाजिक दायित्व अन्र्तगत दिनपर्ने १० प्रतिशत छात्रवृद्धिलाई यसै वर्षबाट अध्यावधिक गर्ने काम सुरु भएको छ । यस कामले संस्थागत विद्यालयलको सामाजिक दायित्वलाई उत्तरदायी बनाएको छ ।

शिक्षामा नगरले उल्लेख्य बजेट छुटाएको नगर शिक्षा प्रमुख भण्डारीले जानकारी दिए । नगरपालिकको आन्तरिक स्रोतबाट यस आर्थिक वर्षमा २ करोड ३० लाख बजेट छुटिएको छ । साथै, बिर्तामोडमा शिक्षक कर्मचारीको तलब भत्तामा पनि राम्रै खर्च हुने गरेको छ । बिर्तामोडमा तलब भत्तामा मात्रै वार्षिक करीब २० करोड खर्च हुन्छ ।

संघीय सरकारले शैक्षिक ऐन नबनाएकोले शिक्षा क्षेत्रमा व्यापक जटिलता रहेको शिक्षा प्रमुख भण्डारीले बताएका छन् । उनी भन्छन्, ‘संघीय सरकारले शिक्षा ऐेन बनाएपछि मात्र शिक्षाको काम सहज हुँदै जान्छ । अहिले त कसको कार्य क्षेत्र कति भन्ने नै छिनोफानो भएको छैन । संघ, प्रदेश र स्थानीय तहको काम गर्ने सीमा निर्धारण भइदिए काम गर्न सहज हुने थियो ।’

संविधानको धारा ८ ले स्थानीय तहलाई माध्यमिक तहसम्मको जिम्मा लगाएको छ । तर संघीय सरकार यो अधिकार पनि आफैं कब्जा गर्ने गरी लागेको छ । त्यसैले शिक्षा क्षेत्रमा एकदम जटिलता उत्पन्न भएको छ । जसले गर्दा बिर्तामोडलाई योजना बनाएर अघि बढ्न गाह्रो भइरहेको छ । जब संघीय र प्रदेश कानुन निर्माण हुन्छ तब मात्र पालिकाहरुले सहजसँग योजना बनाएर काम गर्ने वातावरण तयार हुने देखिन्छ ।

स्थानीय तहको स्थापमा हुन पूर्व सानोभन्दा सानो कामको लागि पनि विद्यालयहरु जिल्ला धाउन बाध्य थिए । तर, अहिले नजिकै पालिका भएकाले जिल्ला धाउन पर्ने अवस्थाको अन्त्य भएको छ । फेरि, विद्यालयहरुलाई पालिकाले विभिन्न स्रोतबाट बजेटहरु उपलब्ध गराएर पनि शैक्षिक बिकासमा टेवा पुगिरहेको छ । तर, कानुनी अस्पष्टता कारण काम जटिल भएको शिक्षा प्रमुख भण्डारी बताउँछन् ।

०७४ सालबाटै शैक्षिक बिकासमा लागि परेको बिर्तामोडको शैक्षिक गुणस्तरको स्तर पनि सुधारउन्मुख रहेको छ । नगरमा मोहनमाया मावि, देवि मावि, लक्ष्मी नारायण आधारभूत, महेन्द्ररत्न मावि र सहिद दशरथ मावि जस्ता एकदमै उत्कृष्ट सामुदायिक विद्यालयहरु रहेका छन् । अन्य विद्यालयहरुको अवस्था पनि दयनीय छैन । समग्रमा बिर्तामोडको शैक्षिक गुणस्तर सन्तोषजनक नै रहेको छ । तर, पनि गर्न पर्ने काम भने अझै धेरै रहेका छन् । यति मै चित्त बुझाएर बस्ने अवस्था भने छैन ।

जनप्रतिनिधिहरु बिर्तामोडमा शिक्षा पूर्ण निशूल्क बनाउने गरी लागि परेका छन् । तर, बजेटको स्रोत अभावले त्यो सम्भव भइरहेको छैन । बिर्तामोडमा अन्य पालिका र जिल्लाका पनि धेरै विद्यार्थीहरु पढ्न आउने भएकाले पूर्ण निशूल्क गर्न कठिन भएको हो ।

केही वर्ष यता सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु बढिरहेका छन् । केही विद्यालयमा त भर्ना हुन पनि कोटाको आवश्यकता पर्ने अवस्था रहेको छ । बिर्तामोडमा व्यवस्थापन समिति र शिक्षक अविभावक संघहरुको सक्रियता सन्तोषजनक नरहेको शिक्षा प्रमुख भण्डारीले बताएका छन् ।

नगर शिक्षा प्रमुख भण्डारीले समग्र शिक्षा क्षेत्रको बिकास निम्ति सुझाव दिएका छन् । उनी भन्छन्, ‘सबैभन्दा पहिले शिक्षा ऐन निमार्ण हुन जरुरी छ । शिक्षालाई समयानुकुल परिवर्तन गर्न जरुरी छ । विद्यार्थीहरुलाई प्रयोगात्मक व्यवहारीक शिक्षामा जोड्न जरुरी छ । हालको शैक्षिक पद्धतिबाट पार लाग्दैन विद्यार्थीहरुलाई आधुनिक ढंगले शिक्षा दिन जरुरी छ ।’

बिर्तामोडले कागजी रुपमा अहिलेसम्म कुनै शैक्षिक योजना बनाएको छैन । तर, चाँडै नै शिक्षा सम्बन्धि गुरुयोजनाहरु सहितको शैक्षिक योजना सार्वजनिक हुन लागेको शिक्षा प्रमुख भण्डारीले बताएका छन् ।

बिर्तामोडले आधारभूत तहमा स्थानीय तहको पाठ्यक्रम ‘आचरण सचेतना शिक्षा’ लागु गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा गुरु योजना बनाउने कार्यक्रमलाई पनि अगाडि बढाएको भण्डारीले जानकारी दिए ।

शैक्षिक हबको रुपमा बिकास गरिने
शिक्षालाई उन्नत र प्राविधिक बनाउने योजना बनाएको बिर्तामोड नगर प्रमुख पवित्रा देवि महतरा प्रसाईंले बताएकी छन् । बिर्तामोडले विद्यार्थीले जे पढेका छन् त्यही विषयबाट व्यवसायिक बन्ने जनशक्ति उत्पादन गर्दै शैक्षिक हबको रुपमा बिकास गर्ने योजना बनाएको उनको भनाई छ । बिर्तामोड बाहिरका मान्छेलाई आकर्षण गर्ने मुख्य विषय नै शिक्षालाई बनाउने योजना भएको नगर प्रमुख पवित्रा देवि महतारा प्रसाईंले बताइन् ।

बिर्तामोडमा मुख्यत ०७४ सालपछि शैक्षिक क्षेत्रमा धेरै सुधार आएको देखिन्छ । शिक्षा क्षेत्रका भौतिक पूर्वधार, प्राविधिक विषयमा र शिक्षकहरुको तालिमाको विषयमा उचित व्यवस्थापन भएको छ । विद्यालयका शौचालयहरु दुर्गन्धित हुने गर्थे । अहिले त्यो अवस्था छैन । सामुदायिक विद्यालयको स्थिति एकदमै नाजुक रहेको थियो । बिर्तामोडमा पहिले प्राविधिक शिक्षाको अभाव थियो । तर, अहिले प्राविधिक विषयमा धेरै क्याम्पसहरु सञ्चालनमा रहेका छन् । बिर्तामोडले प्रविधिको प्रयोग गर्दै शिक्षा क्षेत्रलाई ०७४ अगाडिको अवस्था भन्दा निक्कै अगाडि पुराएको छ । जसले गर्दा सरकारी विद्यालयहरुमा निरन्तर रुपलले विद्यार्थीको चाप बढिरहेको छ ।

शिक्षकहरुले पनि धेरै कुराहरु सुधार गर्नुपर्ने नगर प्रमुख प्रसाईंले बताएकी छिन् । उनी भन्छिन्, ‘शिक्षकहरुले विद्यार्थीको वास्ता नगर्ने, समयसम्म नबसिदिने र आफ्नो कामप्रति कम उत्तरदायी हुने गरेको पाइएको छ । म सम्पूर्ण शिक्षक साथीहरुलाई नानीहरुको भविष्यमाथि लापरबाही नगर्नु हुन आग्रह समेत गर्दछु ।’

शैक्षिक क्षेत्रमा सुधार ल्याउनका लागि सम्पूर्ण सरोकारवालाहरुको सकारात्मक भूमिका रहन जरुरी छ । सबै जना आ–आफ्नो ठाउँबाट उत्तरदायी भएर लाग्न जरुरी छ । नानीहरुको आकांक्षा रुचिका अनुसार शिक्षा दिन पर्छ । अभिभावकहरुले पनि नानीहरुको पढाई र गतिविधिहरुका निगरानी गर्न जरुरी हुन्छ । शिक्षकहरुले विद्यार्थीहरुले गृहकार्य गरे नगरेको, उनीको चाहना के हो लगायतका विषयमा ख्याल गर्नपर्छ । साथै उहाँहरुले आफ्नो सम्पूर्ण दक्षताको प्रयोग गरेर भविष्यको असल कर्णधार निर्माणमा लाग्न हुन आव्हान गर्दछु ।

बिर्तामोड अगाडि
जिल्लाका १५ वटा पालिका मध्ये बिर्तामोड नगरपालिका शिक्षामा केही अगाडि रहेको देवि माविका शिक्षक लीलाप्रसाद भण्डारीले बताएका छन् । बिर्तामोडले शिक्षामा कक्षा एक देखि कक्षा १० सम्म व्यवस्थापन गर्न, सञ्चालन गर्न, समन्वय गर्न र त्यसको नियमन गर्न शिक्षा ऐन जारी गरेको छ । पालिकाले शिक्षा ऐन जारी गर्दा त्यसका सरोकारवालाहरुसँग छलफल गरेर अगाडि ल्याएकोले त्यो ऐन वैज्ञानिक र प्रभावकारी रहेको छ ।

हरेक वर्ष बिर्तामोडले शिक्षा क्षेत्रमा अन्य पालिकाको तुलनामा केही बढि बजेट बिनियोजन गर्ने गरेको छ । यहाँको परीक्षा प्रणाली, मुल्याङ्कन प्रणालीलाई व्यस्थापन गर्न र समय–समयमा शिक्षकहरुलाई तालिम दिनका लागि पनि पालिकाले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । नगरपालिकाले विषयगत अनुगमन समितिहरुको निमार्ण गरेर विद्यालयमा अनुगमन गर्ने गरेको पनि छ । जसले गर्दा शैक्षिक गुणस्तर बढाउनलाई मद्दत भइरहेको छ ।

यसरी हेर्दा विद्यालय तहको शिक्षामा व्यवस्थापन देखि गुणस्तर सुधारसम्मको काममा नगरपालिका एकदमै नजिकबाट लागि परेको छ । साथै नगरले शैक्षिक गुणस्तर वृद्धिका निम्ति तयार गर्दै गरेको गुरुयोजना योजना अझ स्वागतयोग्य रहेको शिक्षक भण्डारीले बताएका छन् ।

उनी भन्छन्, ‘एउटा नगरपालिकाले शिक्षा क्षेत्रमा यति मात्र गरेर पुग्दैन । देश बिकासको पहिलो आधार शिक्षा हो । त्यसमाथि बिर्तामोड नगरपालिका भनेको छिमेकी जिल्ला र पालिकाहरुको मुख्य आवतजावत गर्ने स्थान भएकोले यहाँ अत्याधिक मात्रामा विद्यार्थीको चाप छ । नगरले शिक्षाको लागि पञ्च वर्षे गुरुयोजनाहरु ल्याउनु पर्ने हुन्छ । यहाँ छिमेकी देशका करीब एक हजार विद्यार्थीहरु अध्ययनरत छन् । नगरले कक्षा एकदेखि आठसम्मको शिक्षालाई पुर्णरुपले निशूल्क गर्नुपर्छ । बिर्तामोडका बजार क्षेत्रका विद्यालयहरुमा खेल मैदानको अभाव छ । त्यसैले नगरपालिकाले एउटा खुल्ला मैदानको व्यवस्थापन गर्न जरुरी आवश्यक देखिन्छ ।’

सरोकारवालाहरु एक हुन जरुरी
विद्यालयलाई सफल बनाउन सबैभन्दा पहिले राम्रो दृष्टिकोणको आवश्यकता पर्ने मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताएका छन् । विद्यालयको सम्पूर्ण कार्य योजना सामुहिक छलफलबाट पारित गर्नुपर्छ । सम्पूर्ण सरोकारवालहरु शिक्षकहरु, व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ सबैले छलफल गरेर विद्यालय बिकास प्रस्ताव तयार गर्न जरुरी छ । त्यसमा सुक्ष्म–सुक्ष्म विषयहरु समावेश गर्नुपर्छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा प्रभाव पार्ने मसिना विषयहरुलाई समेटेर काम गर्दा सामुदायिक विद्यालयलाई पनि राम्रो गरि बिकास गर्न सकिन्छ । विद्यालयको हरेक निर्णयको केन्द्रबिन्दु विद्यार्थीहरु हुनुपर्छ । हरेक निर्णयले विद्यार्थीहरुलाई शैक्षिक रुपमा फाईदा हुनुपर्छ ।

सफल विद्यालय बनाउन सबैभन्दा पहिला समयलाई महत्व दिनुपर्छ । बिहान १० देखि ४ बजेसम्मको समयमा कसैले पनि जिम्मेवारी भुल्नु हुँदैन । त्यस समयमा अन्य केही नसोची विद्यालयलाई समय दिनुपर्छ । यति गर्न सकियो भने विद्यालयलाई राम्रो र सफल बनाउन सहज हुन्छ । साथै, विद्यालय बिकास प्रस्तावमा सबैको अपनत्व हुनुपर्छ । जस्तै अभिभावक भेला बोलाउने र उहाँहरुसँग नानीहरुको अवस्थाको बारेमा गफ गर्ने । यस्तो कामले पनि शैक्षिक सुधारमा महत्व राख्दछ । विद्यार्थीहरुको अवस्था एकै किसिमको हुँदैन । कमजोर विद्यार्थीहरुको पहिचान गरि अतिरिक्त कक्षाहरु पनि सञ्चालन गर्नुपर्ने हुन्छ । तब मात्र, विद्यालयलाई सबैको रोजाईमा पर्छ । प्रस्तुति – गगन ढकाल

 

प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]