असार ८, २०८२ आईतबार

बिर्तामोडमा पिज्जाको माग झकास छ : खरेल

बिर्तामोड । झापा बिर्तामोडको खाजा बजारमा पिज्जाको बजार चम्किरहेको छ । पाँच वर्षअघि शनिश्चरे रोडमा सञ्चालनमा ल्याइएको पिज्जा घरले ग्राहकको मागलाई ध्यानमा राख्दै बिर्तामोड–३ स्थित भगवान चोकमा समेत भव्य पिज्जा घर सञ्चालनमा ल्याएको छ ।

पिज्जा भन्नासाथ धनाड्यहरुको खाजा भन्ने बुझिन्छ । तर, नयाँ पुस्ताको रोजाईमा पर्ने पिज्जाको माग बढ्दो छ । नयाँ पुस्ताले अधिकतम रुचाएको पिज्जा खानलाई अहिले अघिल्लो पुस्ताका अभिभावकहरुको पनि घुँइचो लाग्न थालेको छ । इटलियन फुडको रुपमा परिचित पिज्जालाई अहिले बिर्तामोडमा खाजाको ब्राण्ड नै बनाउन सकिएको सञ्चालक याम खरेल बताउँछन् । उनले ग्राहकको मागलाई सम्बोधन गर्दै शान्त वातावरण, खुला ठाउँ, भव्य भवनमा नयाँ पिज्जा घरको सुरुआत गरेको जानकारी दिए ।

अढाई करोड लागतमा सञ्चालन गरिएको पिज्जा घरमा ३० जनाले रोजगारी पाएका छन् । खाजा भन्नासाथ यहाँ मःम चाउमिन मुखमा आउँछ, खरेलले भने – अहिले पिज्जा पनि आउन थालेको छ । ३०-३२ प्रकारमा पिज्जा दिन सक्ने उनको भनाई छ । पिज्जा घरमा ४ सयदेखि ११ सय ५० रुपैयाँसम्मका परिकार पाइन्छन् । पिज्जा घरमा पिज्जासँगै बर्गर, सेन्डवीज, चिकेन विर्यानी, पास्ताका अनेकौ परिकारहरु पाइन्छ ।

बिर्तामोडमा पिज्जा घर सञ्चालनमा आउनुपूर्व यसका पारखीहरु सिलिगुडीसम्म जाने गर्थे । खरेल भन्छन्, अब पिज्जा खानकै लागि सिलिगुडी जानुपर्ने बाध्यता हटेको छ । सिलिगुडी जानेहरु समेतले यहाँको पिज्जा स्वादिष्ट रहेको प्रतिक्रिया दिन थालेका छन् । विदेशमा बनाइने पिज्जामा त्यहाँ पाइने सामानहरुकै प्रयोग हुन्छ । यहाँ स्थानीयस्तरमा जुटाइएको सामानबाटै पिज्जा बनाउने गरेको उनको भनाई छ । सकेसम्म पिज्जाको पूर्ण स्वाद र गुणस्तर दिइरहेको छौं, खरेलले थपे ।

पिज्जामै भविष्य छ भनेर खरेल र उनका व्यवसायिक साझेदार याम ढुङगानाले ठुलो लगानी गरेका छन् । खरेलले पिज्जामा आम मान्छेको रुची भएकोले लगानी जोखिममा नपर्ने बताए । अहिलेसम्मको बजारबाट सन्तुष्ट छौं, आगामी दिनमा झनै राम्रो हुने विश्वास छ ।

खरेल आफै ५ वर्ष कुवेत बसेर आएका व्यक्ति हुन् । कुवेत हुँदा पिज्जा मै काम गरेका थिए । कुवेतको नामी डोमिनस पिज्जामा काम गरेर फर्किएपछि उनले स्वदेशमा पनि पिज्जाकै व्यापार थाले छ । उनी भन्छन्, ‘विदेशमा थोरबहुत पैसा कमाइयो । त्योभन्दा धेरै सीप सिकेर आए । विदेशमा सिकेको सीपकै कारण स्वदेशमा स्वरोजगार बन्न सफल भएका छौं ।’ पिज्जा घरको सञ्चालक, व्यवस्थापक र सेफको भूमिकामा रहेका उनले पिज्जा घरको फ्रेन्चाइज दिने सोचमा रहेको सुनाए । देशभर ठुला बजारहरुमा पिज्जा घर खुल्नेछन्, त्यसका लागि आफुहरु साझेदारी गर्न तयार छौं, उनले भने ।

सुन्दर सजावटमा निर्माण गरिएको पिज्जा घरको वातावरण नै आनन्दित छ । जहाँ, पिज्जाको स्वाद र त्यहाँको वातावरण उत्तिकै मिठो लाग्छ । कुराकानीका क्रममा खरेलले हर्षित मुद्रामा भने, बिर्तामोडमा पिज्जा झकास चल्नै रहेछ । यसको भविष्य राम्रो देखियो ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार  ११ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]