जेष्ठ ७, २०८२ मंगलबार

झापाका विद्यार्थी संगठनले स्ववियु सभापतिमा महिलालाई दिएनन् अवसर

गगन ढकाल
बिर्तामोड । महिलालाई अवसर दिने सवालमा झापाका विद्यार्थी संगठन पनि पछि परेका छन् । आसन्न स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवारको नामावली हेर्दा सबै छात्रहरु मात्र छन् । झापामा कुनै पनि विद्यार्थी संगठनले स्ववियु सभापतिमा महिलालाई उम्मेदवार बनाएका छैनन् ।

झापामा १३ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । सबै क्याम्पसका सभापतिका उम्मेदवारहरु पुरुष मात्र देखिएका छन् । अनेरास्ववियु जिल्ला कमिटी झापाका अध्यक्ष रोशन लामाले सभापतिमा कुनै क्याम्पसमा दाबी नपरेका कारण उम्मेदवार बनाउन नसकेको स्वीकार गरे । उनी भन्छन्, ‘दाबी नआएकाले महिलालाई सभापति पदको उम्मेदवार बनाउन सकिएन । तर हामीले दुई जना महिलालाई सचिव पदको उम्मेदवार बनाएका छौँ ।’

नेविसंघ झापाका जिल्ला सभापति सञ्जय निरौलाले पनि स्ववियु सभापति पदमा दाबी नआएको बताए । दावी नपरेकै कारण महिलालाई उम्मेदवार नबनाएको उनको भनाई छ । उनी भन्छन्, ‘जिल्लामा एक जना मात्र भए पनि अध्यक्षमा महिला उठाउने प्रयास गरियो, तर सकिएन । हामीले जिल्लामा एक जना महिलालाई सचिव पदको उम्मेदवार बनाएका छौँ ।’

अनेरास्ववियुले इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा मन्जु रिजाल (संस्कृति) र त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा बिनिता न्यौपानेलाई सचिव पदको उम्मेदवार बनाएको छ । साथै, नेविसंघले सितारमेश क्याम्पस बुधबारेमा मेलिना मिश्रलाई सचिव पदको उम्मेदवार बनाएको छ ।

झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, त्रिदेव क्याम्पस चारआली, काँकडभिट्टा क्याम्पस, गरामनी क्याम्पस, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस बिर्तामोड, कनकाई बहुमुखी क्याम्पस सुरुङा, दमक क्याम्पस, गौरादह बहुमुखी क्याम्पस, गौरीगञ्ज बहुमुखी क्याम्पस, सितारमेश क्याम्पस बुधबारे, शनिश्चरे बहुमुखी क्याम्पस, गौरादह कृषि क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

अनेरास्ववियुले मेची बहुमुखी क्याम्पस भद्रपुरको सभापतिमा सन्देश धमला ‘पवन’, त्रिदेव क्याम्पस चारआलीको सभापतिमा योगश भण्डारी, काँकडभिट्टा क्याम्पसको सभापतिमा सन्तोष धमला, गरामनी क्याम्पसको सभापतिमा सन्तोष तिम्सिना, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडको सभापतिमा निर्मल विश्वकर्मा, कनकाई आदर्श क्याम्पस बिर्तामोडको सभापतिमा गणेश न्यौपाने (पुकार), कनकाई बहुमुखी क्याम्पस सुरुङाको सभापतिमा चेतन आचार्य, दमक क्याम्पसको सभापतिमा निषेश राई, गौरादह बहुमुखी क्याम्पसको सभापतिमा ईश्वर नेपाल, गौरीगञ्ज बहुमुखी क्याम्पसको सभापतिमा स्तब हुसेन खान, सितारमेश क्याम्पस बुधबारेको सभापतिमा प्रदिप बर्देवा, शनिश्चरे बहुमुखी क्याम्पसको सभापतिमा मनिष आचार्य, गौरादह कृषि क्याम्पसको सभापतिमा विक्रम कुमार तिवारीलाई उम्मेदवार बनाएको संगठनका जिल्ला अध्यक्ष रोशन लामाले जानकारी दिए ।

यस्तै, अनेरास्ववियु (क्रान्किारी) ले बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसको सभापतिमा सुरेन्द्र गिरी, कनकाई आदर्श क्याम्पसमा लक्ष्मण थापालाई सभापतिको उम्मेदवार बनाएको संगठनका जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।

यस्तै, नेविसंघले झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा किशोर ढुङ्गाना, त्रिदेव क्याम्पस चारआलीमा अर्जुन गौतम, काँकडभिट्टा क्याम्पसमा विशाल तामाङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा पवन दाहाल, कनकाई क्याम्पस बिर्तामोडमा किरण गुरुङ, कनकाई बहुमुखी क्याम्पस सुरुङामा कुवेर दाहाल, दमक क्याम्पसमा सुविन न्यौपाने, सितारमेश क्याम्पस बुधबारेमा विवेक कार्की, शनिश्चरे बहुमुखी क्याम्पसमा विशाल थापा, गौरादह कृषि क्याम्पसमा राजन काफ्लेलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]