मेची आवास मुलुकमै पहिलो र नमूना कार्य : ओली
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची बहुउद्देश्यीय सहकारी संस्था दमकले सहकारी आवास निर्माण गरेर देशमै नमूना काम गरेको बताएका छन् । उनले मुलुकमै पहिलो र नमूना कार्य भएको बताए ।
मेची सहकारीले दमक–४ मा निर्माण गरेको सहकारी आवास हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले आवास निर्माणलाई थप विस्तार गर्नुपर्ने बताए । उनले सदस्यहरुका लागि सहकारीले यसरी काम गर्नुपर्ने धारणा राखे ।
आर्थिक रुपमा सामान्य आम्दानी भएका सदस्यहरुले आफ्नै घरमा बस्ने सपना पुरा गर्न मेची सहकारीले महत्पूर्ण योगदान गरेको ओलीको भनाई थियो । उनले सहकारीको माध्यमबाट सदस्यलाई घरधनी बनाउनु चानचुने कुरा नभएको बताए । सहकारी संस्थामा सबै सदस्यहरुले लाभ लिन सक्ने योजना निर्माण गरेर कार्यन्वयन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले सहकारीमा जोडिन आग्रह गरेका छन् । सहकारीले रोजगार निर्माण गर्दै जानुपर्ने समेत धारणा राखेका थिए ।
आवास हस्तान्तरणका अवसरमा अध्यक्ष ओलीले मेची आवासका घरहरु निर्माण सम्बन्धी प्राविधिक सेवा प्रदान गरेको सम्बन्धित निर्माण कम्पनी प्रविन निर्माण सेवालाई सम्मान पत्रबाट सम्मान समेत गरेका थिए । मेची आवास क्षेत्रमा कूल ५७ वटा घरहरु निर्माण गरिएको छ ।
संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्था स्थापनाको २५ बर्षको इतिहासमा आवास निर्माणलाइृ ठुलो सफलताका रुपमा लिएको जानकारी दिए । सो अवसरमा सशुल्क जग्गा उपलब्ध गराउने तुलसा गौतमलाई सम्मान गरिएको छ भने घर जग्गा खरिद गर्ने रेखा बुढाथोकी र बिमला कटुवाललाई जग्गा धनीपुर्जा समेत अध्यक्ष ओलीले हस्तान्तरण गरेका थिए ।
मेची सहकारीले निर्माण गरेका २८ वटा घर खरिद कर्ताले पुरा रकम बुझाइसकेका छन् भने अन्यले किस्तामा खरिद गरेका छन् । किस्तामा घर खरिद गर्नेलाई १२.५ प्रतिशत व्याजमा २० वर्षे कर्जा लगानी गरिएको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए । घर ४३ देखि ५१ लाखसम्म मुल्य कायम गरिएको थियो । जमिनको क्षेत्रफलका आधारमा मुल्य फरक–फरक रहेको बुझिएको छ ।