आँखा कान सम्बन्धी स्वास्थ्य शिविर
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित दुर्गा शक्ति समाज कल्याण संघको कार्यालय (दुर्गा मन्दिर) मा शुक्रबार संचालित १ दिने आँखा र कान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ३०० जना भन्दा बढी लाभान्वित भएका छन् ।
ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको आयोजना तथा अर्जुनधारा नगरपालिकाको प्रायोजना र दृष्टि आँखा अस्पताल सैनिकमोड विर्तामोडको प्राविधिक सहयोगमा ग्रामीण क्षेत्रका आँखा र कानका रोगीहरुलाई सेवा दिने उद्धेश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा दृष्टि आँखा अस्पतालका आँखा विशेषज्ञ डा. अजित ठाकुरको नेतृत्वमा कान बिशेषज्ञ डा. कौशल किशोर शाह ,प्राविधिक सहयोगीहरु अविन्तका कार्की र ओसिन मगरले सेवा प्रदान गरेका थिए ।
स्वास्थ्य टोलीले शिविरमा १०० थान चस्मा समेत निःशुल्क वितरण गरिएको छ । बिगत केही बर्षअघि देखि दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा र कानको उपचारका लागि १ दिने निःशुुल्क स्वास्थ्य शिविर मिलन समाजले आयोजना गर्दै आएको समाजका सचिव शेखरनाथ अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि एवम् अर्जुनधारा नगरपालिका –४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालले स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।
मिलन समाजका अध्यक्ष राम प्रसाद भट्टराईको सभापतित्व तथा कोषाध्यक्ष कृष्णप्रसाद पौडेलको सञ्चालन रहेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कटुवाल , विशिष्ट अतिथि एवं टोली प्रमुख डा. ठाकुर ,समाजका उपाध्यक्ष लवकुश गिरी लगायतले यस क्षेत्रमा आँखा र कानका रोगीहरु सेवा लिनबाट कोही पनि बञ्चित नहुने बताए ।