असार ६, २०८२ शुक्रबार

सरकारका कारण देशमा राजनीतिक र आर्थिक संकट : महासचिव पोखरेल

मकवानपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन सरकारका कारण देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्ने खतरा देखिएको बताउनु भएको छ ।

एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारकै कारण देश कर्मचारीलाई तलब खुवाउन समेत वैदेशिक ऋण लिनुपर्ने अवस्थामा पुगेको बताउनु भएको हो ।

‘आज मुलुकमा जुन प्रकारको संकट उत्पन्न भएको छ, त्यो अहिलेको सरकार र राजनीतिक अस्थिरताको कारणले हो,’ महासचिव पोखरेलले भन्नुभयो ‘आउँदो असार महिनापछि यो मुलुकमा सरकारले ऋण लिएर कर्मचारीलाई तलब खुवाउनु पर्ने स्थिति उत्पन्न भइसकेको छ ।’

कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने, खर्च र आम्दानीको बीचमा दुई खर्बको अन्तर हुनु, आम्दानी भन्दा खर्च दुई खर्ब ज्यादा हुनुले मुलुकको आर्थिक अवस्था सङ्कटमा फसिसकेको स्पष्ट हुने उहाँको भनाइ छ । उहाँले देश चरम आर्थिक संटबाट गुज्रिरहेको भए पनि व्यापारीको सम्पत्ति भने अर्वौं बढेको चर्चा समेत गर्नुभयो ।

‘एक जना व्यापारीको सम्पत्ति एक वर्षमा ४० अर्ब बढ्यो । देश संकटमा छ, देशको एउटा व्यापारी ४० अर्ब एक वर्षमा कमाइ गर्छ । कसरी सम्भव हुन्छ यो कुरा रु’ नेता पोखरेलले भन्नुभयो, ‘तपाईहरूले सुन्नु भएको होला, बजेट बनाउने बेलामा एकजना व्यापारीका एजेन्टलाई राखेर करका दरहरू हेरफेर गरियो भन्ने कुरा । बाहिर सार्वजनिक भयो, पछि त्यसलाई लुकाउनका लागि सीसीटीभीका फुटेजहरू, गायब पार्नका लागि तारहरू काटियो । त्यही घटनाको परिणाम एउटा व्यापारीको सम्पत्ति ४० अर्ब वृद्धि हुनु हो ।’

महासचिव पोखरेलले देश संटबाट गुज्रिरहनुको मुख्य कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेस र माओवादीले अवलम्बन गरेको १५ महिनाको आर्थिक क्रियाकलापको परिणामले देश आर्थिक सङ्कटबाट गुज्रिरहेको बताउनु भयो ।

उहाँले कांग्रेस र माओवादी नेतृत्वको सरकारकै कारण देश आर्थिक संकटमा गएको भन्न नसक्नु विकासको बाधक रहेको बताउँदै अब त्यसका विरुद्ध एमालेका नेता–तथा कार्यकर्ताहरू मौन नबस्ने चेतावनी समेत दिनुभयो । उहाँले समाजलाई बदल्न एमालेका नेता तथा कार्यकर्ताहरूलाई मौन नबस्न र सत्यका पक्षमा बहस गर्न निर्देशन दिनुभयो ।

महासचिव पोखरेलले एमाले सरकारमा रहँदा मुलुकको अवस्था र बाहिरिँदा अहिले मुलुकको आर्थिक अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : बैशाख २, २०८० शनिबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]