नयाँ वर्षमा वर्षौ पुरानो सखुवाको पुजा
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका –५ पाण्डवपुरस्थित एक सखुवाको रुखमा परम्परादेखि राजवंशी , चौधरीहरुले ग्राम पूजा गर्दै आइरहेका छन् । आदिवासीहरुले परापूर्वकाल देखि बर्षमा १ पटक वैशाख महिनाको पहिलो हप्ता (शनिबार ) रुखलाई ग्राम थान मानेर हिन्दू संस्कार अनुसार विधिपूर्वक पूजा गर्दै आएका छन् । बिषेश गरि आदिकालदेखि बसोबास गर्दै आएका राजवंशी ,चौधरीहरु लगायत ५०० घर परिवार ग्राम पूजा कार्यमा उपस्थिति हुने गरेका छन् ।
सयौं वर्ष पुरानो सखुवाको रुख वरिपरि कुनै किसिमको क्षति पु¥याउने व्यक्तिको तुरुन्तै हानीनोक्सानी हुने गरेको स्थानीय युवराज भारती बताउँछन् । सो रुखमा सर्पहरु (नाग र नागिनी ) को बासस्थान भएको भारतीले जानकारी दिए । ०५० सालमा स्व. छत्रबहादुर ठटालका छोराछोरीले बृक्षमा दुईवटा सर्प खेलिरहेको देखेको स्थानीयको भनाइ छ । सखुवानी ठाउँ पवित्र भएको कारणले पनि आफ्नो गौरक्षा, दैवीप्रकोप र महामारीबाट जोगिन ग्राम थानमा भव्य रुपले पूजा आराधना गरिन्छ । थानको नम्वरी जमिन परेकोले रुखको इतिहास कालान्तरसम्म रहिरहनका लागि जग्गाधनीले ५ धुर जमिन थान ( मन्दिर ) को नाममा निःशुल्क पास गरिदिनु पर्ने स्थानीयको माग छ ।