चिमरिया दम्पतिद्वारा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग
बिर्तामोड । बिर्तामोडका व्यवसायी तथा सामाजिक ब्यक्तित्व नारायण चिमरिया र श्रीमती संगिता चिमरियाले बैवाहिक बर्षगाठको अवसरमा विपन्न अपाङ्गता भएका एक ब्यक्तिलाई सहयोग गरेका छन् ।
चिमरिया दम्पत्तिले आफ्नो २५ औं विवाह वर्षगाँठको अवसर पारी सोमबार झापा मेचीनगर १२ स्थित सहरेडांगीका विपन्न तथा सवारी दुर्घटनामा परी आपाङ्गता भएका प्रेम वर्देवालाई सहयोग गरेका हुन् । चिमरिया दम्पत्तीले उनको घरमै पुगेर खाद्यन्न तथा नगद सहयोग गरेका हुन् ।
चिमरिया नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको संयोजक तथा बिभिन्न संघ संस्थामा आबद्ध छन् । त्यस्तै उनकी श्रीमती संगिता विर्तामोड लेडी जेसिजको निवर्तमान अध्यक्ष तथा नेपाल महिला चेम्बर बिर्तामोड नगर अध्यक्ष हुन् । सवारी दुर्घटनामा परी घाइते भएका वर्देवाको आर्थिक अवस्था अत्यन्त नाजुक भएको र खान लाउन नै समस्या भएको देखिपछि सहयोग गरेको चिमरिया दम्पत्तीले बताए ।
२०७५ साल असार २६ मा पांचथरमा ट्याक्सी दुर्घटनामा परी घाइते बनेका वर्देवाको शरिरको कम्मरमुनीको भाग चल्दैन । तत्कालिन अवस्थामा बिएण्ड सी अस्पतालमा झण्डै अढाई महिना उपचार गरेर घर गएका वर्देवा पुर्ण रुपमा निको हुन सकेनन् । तत्कालिन अवस्थामा पनि चिमरिया दम्पत्तीले वर्देवाको उपचारमा सहयोग गरेका थिए ।
मेरुदण्ड भांचिएर लामो समयदेखि थलिएका वर्देवाको परिवारलाई खान लाउन नै समस्या भएको देखेपछि सामाजिक उत्तर दायित्व बहन गर्दै केहि समयदेखि आफुले सहयोग गर्दै आएको चिमरिया दम्पत्तीले बताए ।
सहयोगको अपिल
दुर्घटनामा घाइते बनेका वर्देवा थला परेको ५ बर्ष भयो । उनी ओछ्यानमै दिसा पिसाव गर्छन । पिसावका लागि पाइप लगाइएको छ । दिसा कोट्याएर गर्नुपर्ने अवस्था छ । शरिरको कम्मरदेखि तलको भागमा घाउ छ । धेरै ठाँउ कुहिएको अवस्था छ ।
उनकी श्रीमती अर्काको मेलामा मजदुरी गरेर परिवार चलाउंदै आएकी छन् । घाइते वर्देवाको १५ बर्षका एक छोरा र ११ बर्षीया १ छोरी छन् । सम्पत्तीको नाममा दाताको सहयोगमा किनिएको ४ धुर जग्गा छ । साताको ८ देखि १० हजारको ओषधि खानु पर्छ वर्देवालाई । आर्थिक अवस्था नाजुक भएका कारण उनको परिवारलाई समस्या भएको छ । पुर्ण अपाङगता रहेका वर्देवालाई सरकारबाट प्राप्त हुने भत्ताबाट केहि साहयता भए पनि त्यो पूर्ण छैन । उनले दाता चिमरिया परिवार प्रति आभार प्रकट गर्दै अन्य दातालाई पनि सकेको सहयोग गर्न आग्रह गरेका छन् । उनले बिर्तामोड स्थित लक्ष्मी बैंकमा रहेको प्रेम बहादुर वर्देवा (दमाई) को खाता नम्बर ०२९२००३२५८१ मा सहयोग रकम जम्मा गरिदिन समेत आग्रह गरेका छन् । त्यस्तै सहयोगी चिमरिया दम्पत्तीले पनि वर्देवा परिवारलाई सकेको सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।