बिर्तामोडमा करोडौंको जग्गा गुमेपछि परिवारको विचल्ली
बिर्तामोड । करोडौं मुल्यको जग्गा विभिन्न व्यक्तिले हत्याएपछि डिप्रेशनमा परेर एक बिर्तामोड –८ का हरि मैनालीको निधन भएको उनका आफन्तहरुले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि उनको आइतवार अन्त्येष्टि गरिएको छ । जग्गा हडप्नेहरुबाट फिर्ता नभएसम्म शव नउठाउने अडान राखेपछि परिवारलाई प्रशासनले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । प्रशासनको सो विश्वासमा परिवारले मैनालीको अन्त्येष्टि गरेको आफन्त सुमन मैनालीले जानकारी दिए । जग्गाधनी मैनालीको निधनसँगै श्रीमती राधा पाण्डे र दुई छोरीहरू लक्ष्मी र यमुना न्याय खोजिरहेका छन् ।
बिर्तामोड सडक खण्डसँग जोडिएको करोडौँ मुल्य बराबरको जग्गामा भूमाफियाहरुले हडपेको परिवारले आरोप लगाएको छ । व्यक्तिगत चिनजानको फाइदा उठाउँदै करोडौं मुल्यको जग्गा भएको परिवार सुकुम्बासी बन्ने अवस्थामा पुगेको हो ।
करोडौँ मुल्य पर्ने जग्गा अरूले जालझेल गरी हडपेको कारण जग्गाधनी मैनालीको निधन भएको भन्दै उनका आफन्तजन र छरछिमेकले स्थानीय प्रशासनले उचित न्याय नदिलाएसम्म शवको दाहसंस्कार नगर्ने भन्दै अडानमा उत्रिए ।
पीडित पक्षहरू सोही विषयलाई लिएर आइतबार बिहान जिल्ला प्रशासन कार्यालय झापा पुगे । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घटनाको विषयवस्तु बुझ्दै जग्गा हडप्नेहरूलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएपछि शवको दाहसंस्कार गरिएको मृतकका आफन्त सुमन मैनालीले जानकारी दिए ।
पीडित पक्षको तर्फबाट सीडीओ साबलाई हामीले ठाडो निवेदन दिएको बताउँदै मृतकका आफन्त सुमनले भने, ‘सो घटनाको बारेमा प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको र जिल्लाले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई पत्राचार गरिसकेको बुझ्नमा आएको छ ।’ अब प्रहरीले के गर्छ त्यसैको प्रतीक्षा रहेको उनको भनाई छ ।
हरि मैनालीको नाममा रहेको कित्ता नम्बर २०२४ मा दुई विगहा दुई कट्ठा १० धुर जग्गा थियो । सो जग्गा भद्रपुर–बिर्तामोड सडक खण्डसँग जोडिएको आफ्नो घरदेखि उत्तर पट्टीको हो ।
मैनालीले २०२४ नम्बरको कित्तालाई फुटाई २१३४ र २१३५ कायम गरी भक्तपुरका दीपकचन्द्र न्यौपानेलाई कित्ता नम्बर २१३४ को एक विगहा १० कट्ठा जग्गा २०७० बैशाख ८ गते र काभ्रेपलान्चोकका नवराज ढुङ्गानालाई १२ कट्ठा १० धुर जग्गा २०७० साउन २४ गते राजीनामा पास गरेको भूमिसुधार तथा मालपोत कार्यालय झापाको स्रेस्तामा देखिन्छ । मैनालीले ढुङ्गानालाई राजीनामा पास गर्दा साक्षीमा न्यौपाने बसेको स्रेस्तामा उल्लेख छ ।
जग्गा राजीनामा पास भइसक्दा पनि मैनाली र न्यौपानेबीच लामो समयसम्म आर्थिक लेनदेन भएन । जग्गाको लेनदेन नमिलेको र जग्गा पनि हातबाट फुस्की सकेको भन्दै जग्गाधनी मैनालीले २०७७ सालमा बिर्तामोड ८ नम्बर वडा कार्यालयमा उजुरी हाले । त्यसपछि वडा कार्यालयमा २०७७ असोज २२ गते दुवै पक्षबीच सहमति भयो ।
जम्मा ४२ कट्ठा १० धुर जग्गा बापत न्यौपानेले मैनालीलाई ४ करोड २० लाख रुपैयाँ दिने लिखित सहमति समेत गरियो । २० लाख रुपैयाँ बैनाबापत मैनाली पाइसकेकोले बाँकी चार करोड रुपैयाँ न्यौपानेले दिने सहमति जुटियो ।
सोही दिन नै न्यौपानेले मैनालीको नाममा दुई-दुई करोड रुपैयाँको दुई वटा चेक दिए । तर, चेकमा रकम नहुँदा मैनालीले जग्गाको पैसा पाएनन् । अनि उनले जिल्ला प्रहरी कार्यालय झापामा दुई वटा चेक बाउन्समा उजुरी हाले । प्रहरीमा चेक बाउन्समा उजुरी परेपछि न्यौपानेलाई प्रहरीले पक्राउ गरियो । न्यौपाने शक्ति र पैसाको आडमा उच्च अदालतबाट धरौटीमा रिहा भइसकेको र पीडितले अझै पैसा नपाएको कारण डिप्रेसनमा परेर उनको निधन भएको मृतक मैनालीका आफन्त सुमनले दावी गरे ।
मैनालीका परिवार बसोबास गर्दै आएको दाजु स्व. डिल्लीकुमार मैनालीको नाममा रहेको कित्ता नम्बर ३०६ को १६ कट्ठा १७ धुर जग्गा पनि जालझेल गरी अर्को समूहले कब्जामा लिइसकेको अर्को घटना पनि खुलेको छ ।
४२ कट्ठा १० धुर जग्गाको चार करोड रुपैयाँ नपाएर पीडित बनिरहेको अवस्थामा मैनाली परिवारको थप १६ कट्ठा १७ धुर जग्गा पनि हातबाट फुस्किएपछि सो परिवार थप सङ्कटमा परेको छ । झापा गाउँपालिका–६ का युवराज सिटौला, चेतराज सिटौला, सौरभ सिटौलाले स्व. डिल्लीकुमार मैनालीलाई समेत सञ्चालकमा राखेर पाथीभरा मार्बल एन्ड ग्रेनाइट कम्पनी खोलेका छ ।
कम्पनी खोलेपछि उनीहरूले सञ्चालक स्व. मैनालीको नाम रहेको सो जमिन मेघा बैंक गंगुवा शाखामा धितो संरक्षण राखेर रकम झिकेका थिए । तर, सञ्चालक तथा जग्गाधनी मैनालीको चार वर्षअघि नै निधन भइसकेको छ । कम्पनीका अन्य शेयर सदस्यहरूले सो जमिनको सावा र ब्याज नतिरेको भन्दै बैङ्क लिलामी प्रक्रियामा गइसकेको जनाइएको छ ।
बैंकको ताकेता पश्चात् सो घटना बाहिर आएपछि भाई हरिले बिर्तामोड–८ नम्बर वडा कार्यालयमा उजुरी हाले । त्यसपछि कम्पनीका शेयर सदस्य युवराज सिटौला र हरिबीच लेनदेनको विषयमा सम्झौता भयो ।
दाजुले लिएको ४० लाख रुपैयाँ फिर्ता दिएको खण्डमा सो जग्गा बैंकबाट फुकुवा गरिदिने भन्दै शेयर सदस्य सिटौलाले सहमति कागजमा हस्ताक्षर गरे ।
सो सहमति २०७८ फागुन १५ गते भएको देखिन्छ । एक महिनाभित्र रकम फिर्ता दिने सर्त बमोजिम हरिले ४० लाख जुटायो । तर, सिटौला रकम पनि लिन नआएको र जग्गा पनि बैंकबाट फुकुवा नगरिदिएको आफन्त सुमन मैनालीले जानकारी दिए । दाजुभाइको जग्गा हडप्नेहरूलाई कारबाही नभए न्यायका लागि जस्तोसुकै संर्घषमा उत्रिने उनको भनाई छ ।