बुधबारे हटियाको विजोग नहोस्
सम्पादकीय
सडकमा दिनहुँ मागेर खाने नागरिकलाई दुख छ । उनीहरुको व्यवस्थापन गर्न खोज्दा मानिरहेका हुदैनन् । राज्य पक्षले जवरजस्ती व्यवस्थापन गरेका अनेकौं घटना छन् । सडक मानवका रुपमा जीवन बिताइरहेका नागरिकहरुलाई सुरक्षित आवासको व्यवस्थापन गर्न खोज्दा पनि उस्तै समस्या आउने गरेको छ । जवरजस्ती सडकबाट उठाएर सुरक्षित आवासमा लैजानुपरेको धेरै घटनाहरु छन् । राज्य पक्षले आफ्ना नागरिकहरुलाई दुख नहोस् भन्ने हेतुले सडकबाट उठाएको हुन्छ । तर, उनीहरुलाई त्यो अभियान खासै मन पर्दैन । किनभने, मागेर खान र सडक मानवको जीवन विताउन ठुलै स्वतन्त्रता मिलेको हुन्छ ।
वर्षौ सडकमा बसिरहेको मान्छेलाई दातृ निकाय होस् वा सरकारी निकायले निर्माण गरेको घरमा बसोबास गराउन खोज्दा स्वीकार्य भएको पाइदैन । सडक स्वतन्त्रता घरभन्दा सायद प्रिय भएको हुनुपर्छ । सडकमा स्वतन्त्र जीवन विताइरहेको मान्छे उठाउन कत्ति गाह्रो हुन्छ, बिर्तामोडको मुक्ति चोकमा हेरौं । झापाको बिर्तामोडस्थित मुक्ति चोकमा बस्दै आएका एक पुरुषलाई भर्खरै त्यहाँबाट उद्धार गरिएको छ । ठुलै प्रयासबाट मात्र उनको उद्धार भयो । दिनभर व्यायाम गर्ने, र्याप गित गाउँदै भाषण गर्दै बस्ने पुरुष सुरक्षित राखिएको ठाउँबाट भागेर आएका थिए । फेरि, उनको उद्धार गरियो । दोस्रो पटक उद्धार गरेर राखिएको ठाउँबाट भागेर आएका पुरुष मंगलवार साँझ मुक्ति चोकमै देखिएका छन् ।
यी उदाहरण मात्र हुन् । यस प्रकारका लाखौं उदाहरणहरु हाम्रो आँखा अगाडि छन् । जहिल्यै पनि परिवर्तनमा कठिनाईहरु आउछन् । देशविदेशका परिवर्तन सहजै भएको होइन । प्रशंग हो, बिर्तामोड – ५ को बुधबारे हटियाको । नगरपालिकाले हद प्रयासका बीच बुधबारे बजारको संरचना खाली गरेको छ । त्यहाँ बसेका व्यापारीहरुलाई ठाउँ छोड्न असाध्यै गाह्रो भयो । त्यो ठाउँ स्थानीय सरकारको हो । स्थानीय सरकारले त्यस ठाउँलाई उद्देश्य अनुरुप अब कार्यान्वयनमा लैजानुपर्छ । व्यापारीको मन दुखेकै छ, पक्कै । नयाँ विकासका लागि थोरबहुत सबै पक्षले समझदारी गर्नुको विकल्प छैन । यसै घटनालाई लिएर अब वादविवाद गर्नुभन्दा नयाँ भवन निर्माणका लागि सबैले रचनात्मक सहयोग गरौं । हटिया अहिले उजाड बनेको छ । छिट्टै सुन्दर भवन निर्माण गरियोस् । हटिया क्षेत्रको विजोग नहोस् ।