जेष्ठ ३, २०८२ शुक्रबार

जलथल जंगलको वेवास्था नगर

सम्पादकीय
झापाको दक्षिण भेगमा रहेको जलथल जंगल दक्षिण एसियाकै विशिष्टिकृत एवम् नमूना जंगलको रुपमा अवस्थित छ । तर, उक्त जंगललाई त्यसै बारे अध्ययन गरेका वनजंगलका विज्ञहरुभन्दा धेरैलाई कमै थाहा छ । जलथल जंगलमा पाइने वनस्पति, वन्यजन्तुका बारेमा थोरै मात्र थाहा भएको हुनुपर्छ । जलथल जंगलमा लोप भएका वनस्पति मात्र होइन, धेरै प्रकार चराहरु पाइन्छन् । कतिपय वनस्पतिहरु जलथलमा मात्र पाइने गरेको अध्ययनका क्रममा बताइन्छन् । समग्रमा जलथल जंगल जैविक विविधताले पूर्ण छ । तर, यसको संरक्षणमा सरोकारवालाको चासो कम छ ।

स्थानीय उपभोक्ताहरु वनजंगलको अधिकतम उपयोग र कम मात्रामा संरक्षण गर्ने मनस्थितिमा देखिन्छन् । स्थानीय राजनीतिक दलको मुल मुद्धा जलथल जंगलको संरक्षण बनिरहेको छैन । जैविक विविधताको क्षय हुनबाट जोगाउनुपर्ने अवस्थामा आइपुगेको जंगल उपभोक्ता समितिको संरक्षणबाट मात्रै अब सुरक्षित हुन सक्दैन । २२ वटा सामुदायिक वनहरुको संरक्षणमा रहेको जलथलको चारकोशे जंगललाई राज्य पक्षबाट चासो दिन आवश्यक छ । सरकारले नै जलथल जंगललाई संरक्षणमा चासो दिनुपर्ने देखिएको छ ।

समुदायले जंगलको संरक्षणमा गरिरहेको प्रयास पर्याप्त छैन । जंगलभित्र वन्यजन्तुको शिकार,काठपातको तस्करी बढिरहेको सुन्न पाइन्छ । स्थानीय स्तरबाट त्यसको नियन्त्रण हुनुपर्छ । चोरी तस्करी गर्नेहरुको संरक्षण कोहिबाट पनि हुनुहुदैन । एउटा पक्ष संरक्षणका नाममा सक्रिय भइरहने र अर्को पक्ष चोरी तस्करीमा सक्रिय भइरहने गतिविधिबाट जलथल जंगल सुरक्षित हुनै सक्दैन । यसैले त्यहाँको जैविक पक्ष, वन्यजन्तुको संरक्षण लगायतमा समुदायको पहिलो दायित्व हुन्छ । त्यसको थप संरक्षणमा सबै तहको सरकारसँग समन्वयको खाँचो पनि छ । र, जंगलभित्र र आसपासमा भइरहेको पक्कीजन्य निर्माणलाई तत्काल रोक्नुपर्छ । विकासका नाममा जंगलभित्र पक्की संरचनाहरुको निर्माण रोकियोस् । उपभोक्ताहरु जंगलको उपयोग मात्र होइन, संरक्षणमा विशेष योगदान गर्नुहोस् ।

प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]