नीति कार्यक्रममा सूझाव खोजौं
सम्पादकीय
संघीय संसद्मा अहिले नीति कार्यक्रममाथि छलफल चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति कार्यक्रममाथि वृहत छलफल भइरहेको छ । सांसदहरुले नीति कार्यक्रममाथि आफ्नो विचार राखिरहेका छन् । त्यसै गरी स्थानीय तहले पनि नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेका छन् । स्थानीय तहले आर्थिक वर्ष ०८०÷८१ का लागि बजेट, नीति तथा कार्यक्रमको लागि आन्तरिक तयारी थालिसकेका छन् । वर्षभरीमा स्थानीय तहले गर्ने कामको योजना नीति तथा कार्यक्रम मार्फत ल्याइने गरिन्छ । यसैले नीति कार्यक्रम निर्माण महत्वपूर्ण र दीर्घकालिन प्रभाव राख्छ ।
स्थानीय तहमा निर्माण गरिने नीति तथा कार्यक्रम हरेक वर्ष फोटोकपी गरेको पाइन्छ । गत वर्ष सार्वजनिक गरिएको नीति कार्यक्रममा बजेट, ठाउँ मात्रै परिवर्तन हुन्छ । बाँकी जस्ताको त्यस्तै पाइन्छ । किनभने, जनप्रतिनिधिहरुलाई नीति कार्यक्रम निर्माणबारे राम्रो अनुभव छैन । आफ्नो वडामा धेरै बजेट पार्ने, आफ्नो कोषमा बजेट बढाउने मात्रै योजना धेरैजसोमा पाइन्छ । त्यसैले सम्पूर्ण जनप्रतिनिधिहरुले नीति कार्यक्रम निर्माणलाई विशेष ख्याल गर्न आवश्यक छ । नीति कार्यक्रमले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ । त्यसका लागि फोटोकपी गरिएको नीति कार्यक्रमको अर्थ छैन ।
फोटोकपी गरिएको नीति कार्यक्रम औपचारिकता मात्रै हुन्छ । त्यसको विकल्पमा राम्रो कार्यक्रम निर्माणका लागि आम नागरिक, समुदायसँग अन्तरक्रिया गर्न आवश्यक छ । नीति कार्यक्रममा बाटो बनाउने, बाटो मर्मतका लागि बजेट माग्ने मात्रै भन्ने बुझाई छ । त्यसो नगरौं । अब बन्ने नीति कार्यक्रममा विकृतिका पक्षहरुलाई हटाउन पनि सचेत हुने बेला आएको छ । सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्ने कार्यक्रमहरु समावेश गर्न आवश्यक छ । बजारमा गुट्खा मधुहरु विक्रीमा प्रतिवन्ध लगाउने कार्यक्रम अहिलेको आवश्यकता हो । विषय सामान्य हो, तर यसले नागरिकको जीवनमा स्वास्थ्य र आर्थिक रुपमा धेरै फाइदा पुराउने छ । यस्ता सयौं योजनाहरु अबको नीति कार्यक्रममा समेटिनुपर्छ । त्यसका लागि नागरिकको तहमा छलफल गरेर नीति, कार्यक्रम निर्माण गरौं ।