मिटरव्याजी धन्दा निमिट्यान्न बनाऔं
सम्पादकीय
देशभर पछिल्लो वर्षहरुमा अनौपचारिक कारोवारले घरपरिवारको उठिवास भएको छ । कतिपयले जीवन नै गुमाएका छन् । व्यवहारिक परिस्थितिका कारण गरिने कारोवारमा घरपरिवारकै उठिवास लगाउने आर्थिक गतिविधि कसैका लागि स्वीकार्य छैन । यसले नेपाली समाजको संरचनामा ठुलो असर पुराइरहेको छ । यसको प्रभाव निश्चित जिल्लामा मात्र होइन, देशभर नै पारिरहेको छ । झापामा अझ डरलाग्दो अवस्था छ । गृह मन्त्रालयको परिपत्र पछि जिल्लामा उजुरी दिइरहेका छन् । उजुरी गर्नेहरुको संख्या दिनहुँ बढ्दो छ ।
झापाको जिल्ला प्रशासनमा पछिल्लो तथ्याङक अनुसार करिव १ सयले उजुरी गरेका छन् । मिटरव्याजीहरुबाट पीडित भएकाहरुले न्यायको माग गर्दै उजुरी गरेका हुन् । उनीहरुको उजुरी मात्र दिने होइन, प्रशासनले यसको समाधान पनि खोज्नुपर्छ । आर्थिक एवम् व्यवहारिक कारोवारमा समस्या भएकाहरुलाई सहयोगका नाममा धेरै ब्याज लिनेहरु सक्रिय भएको पाइन्छ । अप्ठ्यारोको फाइदा उठाइदै कसैमाथि आर्थिक अपराध गर्न पाइदैन । आर्थिक अपराधमा परेर कोहि कसैलाई समस्या भए तत्काल जिल्ला प्रशासनमा गएर उजुरी दिऊ ।
झापाको शहरी क्षेत्रमा मिटरव्याजी धन्दा धेरै विस्तार भइरहेको छ । पैसा चलाए वापत दैनिक पैसा लिएर अप्ठ्यारोमा परेकाहरुलाई समस्याको खाडलमा ठेल्ने काम भइरहेको छ । एक लाख रुपैयाँ दिनको २÷३ हजारले लगानी गर्नु नै मिटरव्याज हो । अर्थात, अनौपचारिक कारोवार नै मिटरव्याजमा रुपान्तरित गर्ने काम भइरहेको छ । वास्तवमा सबैले आर्थिक कारोवार गर्दा सर्वप्रथम औपचारिक रुपमा गर्ने गरौं । कसैलाई खाली चेक दिने काम नगरौं । समस्या छ भन्दैमा मिटरव्याजीहरुलाई उक्त व्यवहारका लागि सहयोग नगरौं । सामाजिक रुपमा वृद्धि भइरहेको यो मिटरव्याजी धन्दालाई जरैबाट निमिट्यान्न पारौं ।