जेष्ठ ३, २०८२ शुक्रबार

भारतीय अटो चालक नियन्त्रणमा लेऊ

सम्पादकीय
झापाको बिर्तामोडसहित जिल्लाभर सडकमा अटो र सिटीको भीडभाड देखिन्छ । सवारी साधन नभएकाहरुका लागि असाध्यै उपयोगी बनेको अटो र सिटीको भीड अस्वभाविक छ । स्थानीय नागरिकको आवश्यकता र सडक संरचना अनुसार अटो र सिटीको संख्या धेरै छ । जसको असर व्यवसायीहरुले नै भोग्नु परेको छ । सो सवारी प्रयोग गर्ने यात्रुको संख्या कम छ । तर, अटो र सिटीको संख्या धेरै भएका कारण दिनभरको आम्दानी पनि खासै सन्तोषजनक छैन । सामान्य किस्ता तिर्न र दैनिक गुजारा मात्रै चल्ने गरी आम्दानी हुन पनि धेरै कठिन छ । यहाँको सामाजिक संरचना पनि यति धेरै अटो र सिटी प्रयोग गर्ने गरी अझै निर्माण भएको छैन ।

अत्याधिक संख्या भएको अटो र सिटीले बिर्तामोडमा सहजै आवातजावतमा पनि कठिनाई हुने गरेको छ । रोजगार गर्नेहरुका लागि बाध्यता बनेको अटो र सिटीको विकल्पबाट हटाउन पनि सकिन्न । सानो लगानी गरेर स्वरोजगार बन्नु आफैमा सकारात्मक छ । तर, उच्च संख्या वृद्धि हुनुले स्वयम् चालकहरु नै मारमा परेका छन् । अझ बिर्तामोडमा जिल्लाभर दुरदराजबाट अटो र सिटीको भीड लाग्ने गर्छ । थोरै पैसामा भाडामा समेत प्रयोग गर्न सकिने साधन भएकाले जतासुकै लैजान सहज पनि छ । जिल्लाको व्यस्त बजार बिर्तामोडमा जिल्लाभरकै अटो र सिटी यात्रु ओसारपसारका लागि आइरहेका छन् । त्यसैले पनि यहाँ भीड बढेको पाइन्छ ।

अटो र सिटीको सञ्चालनमा स्थानीय समस्याहरु छन् । अन्यत्रबाट बिर्तामोडमा संख्या थपिदा यहाँका सञ्चालकहरु मारमा पर्ने गर्छन् । अब, यस प्रकारका सवारीमा रुटमा मात्र कुदाउन दिन पनि व्यवहारिक छैन । किनभने, यात्रुको सहजताका लागि भनेको ठाउँ पुराउनैपर्छ । पछिल्लो समयमा भारतीय नागरिकहरु यहाँका अटो तथा सिटीमा चालकको रुपमा काम गरिरहेको भन्ने सूचनाहरु सार्वजनिक भइरहेको छ । यो गम्भीर विषय हो । यसलाई तत्काल रोक्न अपरिहार्य छ । उनीहरुबाट यहाँका व्यवसायी आर्थिक रुपमा असुरक्षित हुन्छन् भने स्थानीय चालकहरु मारमा पर्छन् । क्षणिक आम्दानीको लोभले अपराधकर्म हुन सक्छ । यसैले यहाँका अटो तथा सिटी धनीहरुले गैरनेपालीहरुलाई जिम्मेवारीबाट हटाउनुपर्छ । उनीहरुबाट कुनै दुर्घटना भए अटो तथा सिटी सञ्चालकले जिम्मेवारी लिनुपर्छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]