दलहरु जिम्मेवार बन्नैपर्छ
सम्पादकीय
पछिल्लो निर्वाचनपछि मुलुकमा दलहरुप्रति अनावश्यक प्रचार र भ्रम छर्ने काम तीब्र रुपमा भइरहेको छ । परिणामतः दलहरु नै अग्रस्थानमा छन् । दलका कतिपय राम्रा व्यक्तित्वहरु भ्रमबाट सिर्जित परिस्थितिका कारण पराजित बन्नु परेको थियो । दल खोलेर दलकै गलत प्रचार गर्नेहरुका कारण राजनीतिक दलहरुप्रति व्यापक असन्तुष्टी व्यक्त भइरहेको छ । खासगरी नयाँ पुस्तालाई प्रभावित बनाउने गरी केहि समूहहरु सक्रिय भएको पाइन्छ । जसका कारण समाजमा पुराना दलहरु प्रति व्यापक विरोधको आवाज उठिरहेको छ ।
मुलुकमा परिवर्तन ल्याउन अतुलनीय योगदान गर्नेहरुलाई नमज्जाले गाली गर्ने काम त्यस्तै समूहहरुबाट भइरहेको छ । किनभने, उनीहरु पुराना नेतालाई गाली गर्नेहरुको संख्या वृद्धि गरेर सेन्टिमेन्ट बटुल्ने अभियानमा छन् । यसको मतलव, जनताको हितमा नरहेकाहरुको पक्षमा उभिनुपर्छ भन्ने होइन । भ्रमलाई चिर्नैपर्छ । दलहरुप्रतिको गलत व्याख्यालाई रोक्न दलहरु नै सक्रिय हुन आवश्यक छ । पुराना दलका नेता कार्यकर्ताहरुले राजनीनिक प्रवृत्तिमा सुधार ल्याउन आवश्यक छ । र, जनताको काममा जवाफदेही भई लाग्नुपर्छ । त्यसो हुन सक्यो भने दलप्रतिको भ्रम रोकिन्छ ।
गत निर्वाचनमा केहि अनौठो दृष्य देखियो । स्थापित पार्टीका स्थापित उम्मेदवारहरुका सामुन्ने नयाँ चुनाव चिह्नले चुनाव जितेको अवस्था थियो । उम्मेदवार थाहा छैन, मत चिह्नलाई दिइयो । को व्यक्ति उम्मेदवार छ भन्नेसम्म थाहा नभई मत दिनु बेकुवी मात्र होइन, मतको दुरुपयोग पनि हो । यसैले यस प्रकारको अवस्था आउनबाट रोक्नुपर्छ । बेलैमा दलहरुका प्रतिनिधिहरुले जनताप्रति जवाफदेही र जिम्मेवार बननुपर्छ । पुराना दलका नेता, कार्यकर्ता एवम् अगुवाको असामाजिक व्यवहारका कारण विग्रिएको वातावरण सुधार नगरे भ्रम बढेर जानेछ । दलहरुमा सुधारको व्यापक खाँचो छ । सुधार नआएसम्म भ्रम फैलाउनेहरुकै विगविगी चल्न सक्छ ।