सुर्तिजन्य पदार्थको प्रयोग नगरौं
सम्पादकीय
झापाको कनकाई नगरपालिकाले सुर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिवन्ध लगाउने तयारी गरेको छ । आम नगरबासीको हितमा गरेको निर्णय कार्यान्वयन हुनुपर्छ । तर, यो निर्णय सजिलै कार्यान्वयन हुन सक्दैन । बहुत चुनौतिपूर्ण रहेको सूर्तिजन्यको प्रतिबन्धमा सबैका साथ सहयोग हुन जरुरी छ । कोशी प्रदेश सरकारले पनि नियमन गर्ने भनेको थियो । सरकारले नै विशेष कार्यक्रम बनाएर शुरु गरेको अभियान पक्कै सफल बन्नेछ भन्ने विश्वास थियो । तर, उक्त अभियान सफल हुन सकेन । कुनै अभियान सफल बनाउन आम नागरिकको साथ सहयोगको खाँचो पर्छ ।
पछिल्लो समय स–साना बालक समेत चुरोट तानिरहेको देख्न सकिन्छ । विक्रिका लागि प्रतिबन्ध लगाइएको क्षेत्रमा खुलेयाम व्यापार भइरहेको छ । सुर्तिजन्य पदार्थको विक्रिको कुनै तथ्याङक छैन । विक्रि हुने विभिन्न प्रकारका सूर्तिजन्य पदार्थको तालिका लामै हुन्छ । यसरी रोग निम्त्याउने बस्तु व्यापार गर्नेलाई पनि नियमन गर्न जरुरी छ । आम नागरिकको स्वास्थ्यलाई सुरक्षित बनाउने हो भने व्यापारमा बन्देज लगाएर खानेलाई पनि कारवाहीको दायरामा ल्याउन आवश्यक भइसकेको छ । नेपालमा सूर्तिजन्य पदार्थको प्रयोग बढ्दो छ । युवादेखि बृद्धसम्म यसको प्रयोग भएको पाइन्छ ।
निरोगी बनाउन स्थानीय तह र प्रदेश सरकारले गरेको निर्णय सबैको हितमा छ । यसको कार्यान्वयन अपरिहार्य पनि छ । यसका लागि सचेतना फैलाउन आवश्यक छ । पुरानो पुस्ता खैनी, बिडी प्रयोग गर्छन भने नयाँ पुस्ता चुरोट,खैनी देखि हुक्कासम्म लिइरहेका छन् । यसमा सूर्तिको प्रयोग छ । सूर्तिको प्रयोग बढ्नाले रोगीको संख्या पनि बढिरहेको छ । सूर्तिले मुटु, कलेजो र फोक्सोमा तिब्र असर पु¥याइरहेको छ । क्यान्सरको मुख्य विउ नै सूर्तिजन्य पदार्थको प्रयोग हो । यसको प्रयोग नघटाएमा वा नछोडेमा जो कोहि क्यान्सरको भागेदार अवश्य बन्नुपर्छ । सूर्तिको तल्तल लाग्नु भनेकै रोगको लक्षण हो । त्यसमा भएको निकोटिन शरीरलाई नभई नहुने अवस्थामा पुगेपछि तल्तल लागिरहन्छ । यसैले हरेक नागरिकले सूर्तीको प्रयोग घटाउदै लैजानुपर्छ । त्यस तर्फ सचेत बनौं ।