झापामा ट्राफिक सप्ताहको शुभारम्भ, टोकन प्रणाली लागु गर्न आग्रह
शव तेर्साएर वार्गेनिङ गर्न थालेको व्यवसायीको गुनासो
बिर्तामोड । झापामा आजदेखि ट्राफिक सप्ताह -२०८० शुभारम्भ गरिएको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने मुख्य उद्देश्य रहेको अभियान सात दिनसम्म सञ्चानल हुनेछ ।
बिर्तामोडमा सम्पूर्ण सुरक्षा निकाय, विद्यार्थी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजित र्याली पश्चात ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो । बिर्तामोडमा आयोजित समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ट्राफिक सप्ताहको उद्घाटन गरेका छन् । उनले एक बालिकालाई ट्राफिक जनचेतना लेखिएको हेलमेट लगाउदै कार्यक्रमको शुभारम्भ गरेका थिए ।
असार १९ गते प्रभातफेरी र अभियानको उद्घाटन, २० गते तीब्र गति नियन्त्रण तथा पार्किङ निषेध, २१ गते मोटरसाइकल चालकलाई प्रशिक्षण र लेन अनुशासनको पालना, २२ गते सिटी तथा इरिक्सा र स्कुल बसलाई प्रशिक्षण, २३ गते मापस तथा लापसे चेकिङ, २४ गते चालकको स्वास्थ्य र सवारीको यान्त्रिक जाँच र २५ गते अन्तरक्रिया र समीक्षा गर्दै अभियानको समापन गरिने झापा ट्राफिकका याम कुमार खड्काले जानकारी दिए ।
सातै दिन सात काम, सडक सुरक्षा हाम्रो अभियान नारासहित शुभारम्भ गरिएको छ । उक्त कार्यक्रममा नेपाल यातायता राष्ट्रिय महासंघका केन्द्रीय सदस्य टंक दवाडीले सवारी दुर्घटना न्यूनिकरण सबैको साझा दायित्व भएको बताए । यातायात व्यवसायी र ट्राफिक प्रहरीको मात्रै दायित्व सम्झिएका कारण दुर्घटना न्यूनिकरण हुन नसकेको उनको भनाई थियो । यातायात व्यवसायी दवाडीले झापामा टोकन प्रणाली लागु गरेर दुर्घटना न्यूनिकरणमा सहयोग भएपनि अहिले उक्त कार्यक्रम हटाइएको बताए । उनले सवारीको गति नियन्त्रणमा प्रभावकारी भएको टोकन प्रणाली लागु गर्नुपर्ने धारणा राखे । उनले सवारी दुर्घटना पश्चात शव तेर्साएर गरिने बार्गेनिङ विकृतिको रुपमा बढिरहेको भन्दै यस तर्फ प्रशासनलाई ध्यानाकर्षण गराए । दुर्घटना जानेर गर्ने होइन, अन्जानमा हुने क्षतिलाई बार्गेनिङ गर्नु हुदैन, उनले थपे । छलफल र वार्ताका नाममा व्यवसायीहरुलाई आजित पार्ने काम भइरहेको दवाडीको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि झापाका सिडियो शिवराम पोखरेलले सवारी दुर्घटना न्यूनिकरण नै अभियानको मुख्य उद्देश्य भएको बताए । उनले दुर्घटना कसैको निमित्त प्रिय नहुने भन्दै सबैको प्रयासबाट न्यूनिकरण गर्नुपर्ने बताएका छन् । सवारी चलाउने व्यक्ति, सडकको सरोकारवाला निकाय र पैदल यात्रीले मात्रै ख्याल गर्दा दुर्घटना न्यूनिकरण भएर जाने उनको भनाई थियो । सिडियो पोखरेलले आम नागरिकले ट्राफिक नियम सम्बन्धी ज्ञानको पालना गर्नुपर्ने बताएका छन् । ट्राफिक नियम पालना गरे मात्रै दुर्घटना न्यूनिकरण हुने भन्दै उनले ट्राफिक सचेतना फैलाउन आग्रह गरे ।
झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले झापामा मापसेपछि लापसे गर्ने दर बढेर गएको सुनाए । उनले मापसे परीक्षण छल्न लापसे गरिरहेको अध्ययनबाट भेटिएको बताए । एसपी रेग्मीले सबैले आफ्नो सुरक्षा गरेर सवारी चलाए मात्रै पनि दुर्घटना दर घटेर जाने बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रविन जोशी ज्ञवालीले स्वागत गरेको कार्यक्रम प्रनानि जीवन कुमार कार्कीले सञ्चालन गरेका थिए ।